Bal Krishna Dhungelकाठमाडौ। नेपालको सर्वोच्च अदालतले जन्मकैदको फैसला पाएका एमाओवादीका पूर्व–सभासद बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्राउ गरी कारागारमा पेश गर्न प्रहरी महानिरिक्षकलाई आदेश दिएको छ।

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलाशले ‘फरार रहेका बालकृष्ण ढुंगेललाई पक्राउ गर्न वारेन्ट जारी गरिएको’ आदेश दिएको हो। अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले बिहीबार ढुंगेललाई पक्राउ गर्न आफू र मातहतका सम्पूर्ण जनशक्ति परिचालन गर्न प्रहरी महानिरिक्षकलाई आदेश दिएको हो।

गत फागुन २९ गते रामेछापको सैंपु गाविसको फेदी भन्ने स्थानमा गरिएको कार्यक्रममा ढुंगेलले आफूमाथि सर्वोच्च अदालतले गरेको फैसलाप्रति तिव्र आक्रोश व्यक्त गर्दै मुद्दा फैसला गर्ने न्यायाधीश माथि भौतिक आक्रमण गर्ने चेतावनी दिएका थिए । सर्वोच्च अदालतको फैसला मान्दिन, खारेज गरिदिन्छु, गिरफ्तारीको आदेश खारेज गरिदिन्छु,’ ढुंगेलले भाषणमा भनेका छन्, ‘फैसला गर्ने न्यायाधीशको नाममा वारेन्ट जारी गरिन्छ, फिला नचिरी म जेल जान्न।’

सर्वोच्च अदालतले पनि यही व्यहोरा उल्लेख गरी सामाजिक सञ्जालहरुमा भिडियोहरु सार्वजनिक भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो। सर्वोच्च अदालतले फैसलामाथि नै चुनौती दिनेदेखि न्यायाधीश माथि अमर्यादित, आपत्तिजनक र भौतिक आक्रमणको धम्की दिने विषयलाई आफूले गम्भिरतापूर्वक लिएको जनाएको छ। भाषणका क्रममा ढुंगेलले प्रधानन्यायाधीश कार्कीसहित पूर्व प्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ र खिलाराज रेग्मीमाथि आक्रमणको धम्की दिएका थिए।

अदालतको फैसला नमान्ने, फैसला गर्ने न्यायाधीशमाथि सार्वजनिक आक्रमणको धम्की दिने गतिविधी भइरहेको भन्दै सर्वोच्च अदालतले गृह प्रशासन र प्रहरी निकायले समेत अदालतको फैसला कार्यान्वयनमा सहयोग नगरेको उल्लेख छ।
प्रकाशन मिति–२०७३ साल चैत्र ३१ गते विहीवार ।