काठमाडौं। नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपनि तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढाउने भएको छ।

इन्डियन आयल कर्पोरेशनले पछिल्लो पटक इन्धनको बढेको मूल्यसूची पठाएपनि आम सर्वसाधारण उपभोक्ता तथा देशको आर्थिक वृद्धिदरलाई ध्यानमा राखी अर्को मूल्य प्राप्त नहुन्जेलसम्म पेट्रोलियम पदार्थको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ। इण्डियन आयलले १५/१५ दिनमा पठाएको नयाँ मूल्यअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ।

इण्डियन आयलले यही माघ २ गते पठाएको पछिल्लो मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ०.६१ पैसा र डिजेलमा ०.४५ पैसा वृद्धि भएको निगमका प्रवक्ता इन्जिनियर वीरेन्द्र गोइतको भनाई रहेको छ।

हाल पेट्रोलको मूल्य प्रतिलिटर रु १०८, डिजेल र मट्टीतेल प्रतिलिटर रु ९५ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ४०० रहेको छ।
प्रकाशन मिति–२०७५ साल माघ ४ गते शुक्रवार ।