काठमाडौ। पेरुमा मानव इतिहासकै सबैभन्दा ठूलो नरबली दिइएको आशंकाको खुलासा भएको छ। त्यहाँ नेशनल जियोग्राफिक सोसाइटीको आर्थिक सहयोगमा गरिएको उत्खनन तथा अनुसन्धानका क्रममा भेटिएको प्रमाणअनुसार मानव इतिहासमै धेरै बालबालिकाको बलि दिइएको हुन सक्ने आशंका पुरातत्वविद्हरुले गरेका हुन्।

पेरुको उत्तरी तटीय क्षेत्रको प्राचीन चिमु सभ्यताको केन्द्रनजिकै पर्ने आधुनिक पेरुको ट्रुजिल्लोमा करीब साढे पाँच सय वर्ष पहिले झण्डै एउटै समयमा १४० जना बालबालिकाको बलि दिइएको अनुसन्धानले देखाएको हो। एउटै घटनामा बालबालिकासँगै ऊँट प्रजातिको लामा भनिने दुई सयभन्दा बढी भेडा जस्ता बच्चा जनावरको पनि बलि दिइएको अनुसन्धानवाट खुलेको हो।

तीन हजार ५ सय वर्ष पुरानो एउटा मन्दिरको उत्खननका क्रममा सन् २०११ मा पहिलो पटक नरबलि दिइएको वान्चाकिटो लास् लामास् भन्ने ठाउँबाट ४० जना पीडित र ७४ वटा लामा जनावरका बच्चाको अवशेष फेला परेको थियो। पाँचदेखि १४ वर्षमुनिका १४० बालबालिकाको बलि दिइएको अनुसन्धानको निचोड रहेको नेशनल जियोग्राफिकले जनाएको छ।

छातीको बीचको हड्डीसहित अरु हड्डीमा देखिएको खतले बालबालिका नरबलिको शिकार भएको पुष्टि भएको हो । पीडितको मुटु झिकिएको हुनसक्ने आशंका छ । त्यहाँ भेटिएका कपडाका अवशेषको कार्बन डेटिङ विधिबाट निर्धारण गर्दा उक्त घटना सन् १४०० देखि १४५० को अवधितिर भएको बताइएको छ ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल बैशाख १५ गते शनिवार ।