Nepal Idol Buddha Lama 1

काठमाडौ। नेपालमा चर्चाको शिखरमा रहेको नेपाल आइडलको पहिलो उपाधि पोखरा नयाँबजारका बुद्ध लामाले जितेका छन्। कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा शुक्रबार राति भएको अन्तिम प्रतिस्पर्धामा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै पोखरा नयाँबजारका बुद्ध लामा पहिलो नेपाल आइडलको बन्न सफल भएका हुन्।

Nepal Idol Buddha Lama 2

उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो। जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले नेपाल आइडलको उपाधि जितेका हुन्। बुद्ध लामाले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० कार र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन्। यी सवै पुरस्कार बुद्धलाई लोकप्रिय हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले पुरस्कार प्रदान गरेका थिए।

एपीवान टेलिभिजनबाट प्रसारित प्रतियोगितामा उर्लाबारी मोरङका निशान भट्टराई र झरुवारासी ललितपुरका प्रताप दास क्रमशः फस्ट र सेकेन्ड रनरअप घोषित भए। निशानले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरे भने प्रतापले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट पाए। फस्ट रनरअप निशानले १५ लाख रुपैयाँ र सेकेन्ड रनरअप प्रतापले १० लाख रुपैयाँ पुरस्कार हात पारे।
प्रकाशन मिति–२०७४ साल असोज ७ गते शनिवार ।