काठमाडौ। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ। यही आउने माघ १९ गते देखि २२ गतेसम्म चारदिने चलचित्र महोत्सव हुने भएको हो।

कथ्यहरुको उत्सव भन्ने नारा सहित पोखरा उद्योग बाणिज्य हलमा आयोजना हुने महोत्सवमा साना तथा ठूला नेपाली र विदेशी चलचित्रको महोत्सव हुने जानकारी आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले भिजन संसारलाई बताएका छन्।

आयोजक संस्थाका फेस्टिभल निर्देशक मनोज पण्डितले महोत्सवका लागि विश्वभरका चार सय चलचित्रले आवेदन दिएको मध्येवाट छानिएर ५३ वटा चलचित्रलाई सहभागिता गराइन लागेको भनेका छन्। तिर्थ श्रेष्ठ, करुण थापा, विजयरत्न तुलाधर, सचिन घिमिरे र मनोज पण्डित फिल्म सेलेक्सन कमिटीले उक्त ५३ चलचित्र छानिएको हो।

महोत्सवमा डा.चैतन्य मिश्र, यादव खरेल, नवीन सुव्वा, सुरेश ढकाल, तीर्थ श्रेष्ठ, सरुभक्त, अनुप बराल, रविन्द्र अधिकारी, मणि थापा, विश्वप्रकाश शर्मा, सुनिल थापा लगायतका थुप्रै विषयगत विव्दानहरुको प्रस्तुति हुने तथा उत्कृष्ट ठहर गरिएका ठूला तथा साना चलचित्रलाई नगद २५ हजार देखि ५० हजारसम्मको पुरस्कार समेत राखिएको आयोजक संस्थाले जनाएको छ।


प्रकाशन मिति–२०७४ साल पुष १८ गते मंगलवार ।