pokhara-gate-todfodपोखरा। नेपालको तीनदिने राजकिय भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज शुक्रबार पोखरा आउने भएको छ। पोखरामा राष्ट्रपति मुखर्जीको लागि सडकका ठाउं–ठाउंमा तुल तथा स्वागत व्दारहरु राखिएको छ। सडकलाई झकिझकाउ गरिएको छ। पोखरालाई पनि काठमाडौलाई जस्तै राष्ट्रपति मुखर्जीको भ्रमण अवधिभर ठप्प पार्ने देखिएकोले त्यसको पूर्वसन्ध्यामा पोखराका स्थानिय युवाहरुले त्यसको विरोध गरेका छन्।

त्यसमाथि नेपालमा नाकावन्दी गरेर सारा नेपाली जनतालाई दुःख दिने भारतका राष्ट्रपतिको स्वागत गर्न नसकिने भन्दै पोखराको इन्द्रचोकमा बनाइएको स्वागत व्दार तोडफोड गरिदिएको छ। बुधवार राति उनीहरुले गेटमा स्वागत छ पोखरामा भनेर लेखिएका फ्लेक्स र राष्ट्रपति मुखर्जीको फोटो च्यातिदिएका छन्। पोखरा स्थित जिल्ला प्रहरी कार्यालय कास्कीले सामान्य रुपमा मात्र च्यातिएको र च्यातिएको स्थानमा नयाँ फ्लेक्स राखिएर जस्ताको तस्तै मिलाइसकेको बताएको छ।

स्वागत व्दारको सुरक्षाको लागि पोखरा शहरभरि प्रहरीले कडा निगरानी र सुरक्षा प्रदान गरेको छ। पोखरामा आज शुक्रबार राष्ट्रपति मुखर्जी जनकपुरको कार्यक्रम सकाएर मध्यान्हतिर आउने भएको छ। पोखराको विमानस्थलमा भने, विहान १० बजेपछिको सवै उडानहरुलाई रद्द गरिएको छ।
प्रकाशन मिति–२०७३ साल कात्तिक १९ गते शुक्रबार । नेपाल संवत ११३७ कछला पंचमी ।