पोखरा । पश्चिम नेपालको पोखरा कास्की जिल्लामा आज शनिवार देखि सार्वजनिक सेवा लिन कोभिड विरुद्धको खोप लगाएको प्रमाण देखाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले आदेश जारी गरी खोप कार्ड अनिवार्य गरेको हो।

गृह मन्त्रालयको निर्देशन तथा जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको पुस २६ गतेको बैठकले जिल्लाभरी खोप कार्ड अनिवार्य गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चायले बताएका छन्। आदेशले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी जम्मा हुन र राजनीतिक, सामाजिक तथा सांस्कृतिकलगायतका भेला, महोत्सव, सभा सम्मेलन गर्न रोक लगाएको छ।

सार्वजनिक सवारी साधनमा यात्रुले अनिवार्य रुपमा मास्क र भौतिक दूरी कायम गर्नुपर्ने छ। हवाई जहाजबाट यात्रा गर्नुपूर्व कोभिड नेगेटिभ भएको खोप कार्ड देखाउनुपर्ने छ । औषधीलगायतका अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृतिम अभाव सृजना गर्ने, मूल्य वृद्धि गर्ने, लुकाउने र प्रशासनको आदेश पालनान नगरेमा कानुन बमोजिम कारबाही जनाइएको छ।

जिल्लामा आधारभूत तथा माध्यमिक विद्यालयको पठनपाठन रोकिएको छ। सेमेस्टर र वार्षिक परीक्षा तथा अन्य परीक्षाको हकमा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरी सञ्चालन गर्न भने अनुमति दिएको छ।
प्रकाशन मिति–२०७८ साल माघ १ गते शनिवार ।