पोर्चुगल । नेपाली कला र लोक संस्कृतिको संरक्षण, प्रवद्र्धन एवं नेपाली पर्यटनको प्रचारप्रसार गर्ने उद्देश्यले पोर्चुगलमा नेपाली महोत्सव आयोजना भएको छ।

पहिलो पल्ट आइतवार भएको यस महोत्सवमा “यो नेपाली शिर उचाली, संसारमा चम्किन्छ” र “बिर्सेको छैनौं हामी, संस्कृति अझै पनि, नेपालमा हामी जन्मेको, नेपालमै मिलौंला” भन्ने गीत प्रस्तुत भइरहँदा सहभागी नेपालीहरु नेपाली झण्डा फहराउंदै मज्जाले देश संझेर नाचेको पोर्चुगलमा नेपाली टेलिभिजन चलाएर चर्चाको शिखरमा रहेका कलाकार तथा संचारकर्मी गंगा बहादुर नेमकुलले बताएका छन्।

कार्यक्रममा ख्यातिप्राप्त लोकदोहोरी गायक जेबी वलीले लोकदोहोरी गीतमार्फत सहभागी नेपाली तथा विदेशीहरुलाई छमछमी नचाएका थिए । दुई बालिकाले यहांँको स्थानीय पोर्चुगिज भाषा मै प्रहसन समेत प्रस्तुत गरेका थिए। महोत्सवमा नेपाली कला र लोक संस्कृति झल्कने नेपाली वेशभूषासहितको विशेष साँस्कृतिक झाँकीहरु पनि प्रदर्शन गरिएको थियो।

विदेशीहरुलाई नेपालका बारेमा जानकारी दिने, नेपाली कला, संस्कृति र पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले विदेशी भूमिमा नेपाली महोत्सव गरिएको कलाकार नेमकुलले भनेका छन्। महोत्सवमा नेपाली तथा विदेशी गरी ६ हजार भन्दा बढी दर्शकले अवलोकन गरेको अनुमान रहेको छ। महोत्सवको उदघाटन पोर्चुगलका लागि अवैतनिक नेपाली वाणिज्यदूत मकर बहादुर हमालवाट भएको थियो।

महोत्सव नेपाली वाणिज्य दूतावासको संरक्षकत्व एवं नेपाल पर्यटन बोर्ड, नेपाल चेम्बर अफ कमर्श तथा पोर्चुगलमा क्रियाशील नेपाली संघसंस्थाहरुको सहआयोजनामा सम्पन्न भएको हो। महोत्सवमा नेपाली उत्पादन, हस्तकला, नेपाली खाना, नेपाली पोशाक, नेपाल झल्काउने तस्वीरलगायतका सामग्री राखिएका नौ वटा स्टल राखिएका थिए।
प्रकाशन मिति–२०७५ साल बैशाख ३ गते सोमवार ।