० अति भोकमरीमा पोषणयुक्त आहार । ० गायनको हसनामय सांगीतिक यात्रा । ० आपतकी देवी

काठमाडौं। यो बर्षको होली पर्वमा होली हसनाको वास्तबमा नै व्यापक चर्चा भयो। यसरी चर्चा हुनुको पछाडि होली विशेषमा तयार पारिएको होलिमय होली हसना गीतको भिडियोको कारण हो। यो गीत भिडियोको गायन र निर्माण पोषण विज्ञ हसना शाक्यवाट भएको हो। ख्यातिप्राप्त नृत्य निर्देशक भुवन श्रेष्ठको निर्देशन तथा रवि रानामगरको कोरियोग्राफीमा निर्माण भएको होली हसना गीतको भिडियोले होली पर्वको मर्म तथा विशेषतालाई सरल तथा सहज ढंगले प्रस्तुत गर्ने कार्य भएको छ।

नेपालभाषा चलचित्रका सुपरस्टार रुपेन्द्र श्रेष्ठ, भिन्तुना जोशी लगायतको अभिनयले जीवन्त बनाएको होली हसना बोलको गीतले नयाँपन दिएको छ। माया–प्रेमका गीत भन्दा पर्व–विशेषका गीतले समाजको सामाजिक मर्यादा कायम गर्न ठोस योगदान दिने गरेको छ। यसलाई मध्यनजर गरेर बर्षका १२ महिनामा हुने गरेका नेपालका विशेष पर्वहरुको बारेमा गीत अनि ती गीतका सान्दर्भिक भिडियो तयार पार्ने पोषण विज्ञ हसना शाक्यको सोच रहेको छ।

यही सोचअनुरुप कार्य गर्न पोषण विज्ञ हसना शाक्यमा होलीमय हसना गीतको भिडियोवाट थप उत्साह तथा ऊर्जा मिलेको हो। १८ बर्ष लामो समय संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रममा पोषण विज्ञको रुपमा हसना शाक्यले कार्य गरेकी थिइन्। नेपालका ३४ जिल्ला तथा नेपाल वाहिर अफगानिस्तान, इराक, नर्ग कोरिया, सुडान लगायतका देशमा भोकमरीमा परेका गरीब जनता तथा गर्भवती महिलाहरुको सेवामा स्थलगत हसना शाक्यवाट भएको थियो।

अति भोकमरीमा परेका अफगानिस्तान, इराक, नर्थ-कोरिया तथा सुडानका विभिन्न स्थानमा पुग्दा बास्तविक गरिबी तथा चरम भोकमरीको यथार्थतालाई आत्मसात गर्ने कार्य हसना शाक्यवाट भएको थियो। ती स्थानमा युनिसेफको सहयोगमा हसना शाक्यवाट भोकमरीमा परेका त्यहाँका कुपोषित गर्भवती आमा तथा बच्चाहरुको लागि संचालित पोषणयुक्त पौष्टिक आहार कार्यक्रममा दिलोज्यान लगाएर कार्य गरेकी थिइन्। अफगानिस्तानका कतिपय स्थानमा पोषण कार्यक्रम संचालन गर्ने क्रममा अति सामाजिक मर्यादामा रहेर कार्य गर्न त्यहांको मर्यादा तथा संस्कार अनुसार बुर्का लगाएर पनि कार्य गर्नुपरेको थियो।

लामो समय ती देशमा बसेर पोषणयुक्त पौष्टिक आहार कार्यक्रम गरेर त्यहाँको भोकमरीलाई केही हदसम्म निराकरण गर्न हसना शाक्यले ठूलै योगदान गरेकी थिइन्। जुन योगदानको ती देशका कतिपय जनताले अझैपनि हसना शाक्यको सेवालाई संझ्ने गरेका छन्। अर्कोतर्फ नेपालका ३४ जिल्लामा संचालित पोषण कार्यक्रममा पनि त्यतिकै सहयोग गरेकी हसना शाक्यले कम्युनिटी डेभलपमेन्ट तथा फुड एण्ड न्युट्रेसनमा त्रिभुवन विश्वविद्यालयवाट मास्टर तथा हल्याण्डवाट पोष्ट ग्राजुयेट गरेकी हसना शाक्यको जन्म काठमाडौंको बसन्तपुर स्थित झोंछेँमा भएको थियो।

पिता सौभाग्यरत्न शाक्य तथा माता जमुना देवी शाक्यका सुपुत्री हसना शाक्यको हजुरबुवा बुद्धरत्न शाक्य झोछेँको नामी शास्त्रीय संगीतका उस्ताद थिए। हजुरबुवाको संगीतको प्रभाव सानैवाट हसना शाक्यमा पनि परेको थियो। सानैमा हजुरबुवाको संगीतमा हुर्केकी हसना शाक्यको गायन यात्रा सानैवाट भएको हो। यसलाई निरन्तरता दिने कार्य भने गीतकार राजेन्द्र सारा तथा जीवन शाक्य मार्फत संगीतकार संचिन सिंहसंग चिनाजानी भएपछि भएको हो।

सचिन सिंहको उत्साह तथा प्रेरणावाट गीत गायनमा निरन्तरता दिएकी हसना शाक्यको रेकर्डेट पहिलो गीत नझार आँसु नै रहेको छ। हालसम्म होली गीत समेत गरेर ११ वटा गीत गाइसकेकी छन्। ती सवै पिताको नामवाट निकालिएको गीति एल्बम सौभाग्यमा संग्रहित रहेको छ। हाल ललितपुरको सुनाकोठी स्थित सिभिल होमममा बसोबास गर्दैआएकी हसना शाक्य त्यहाँको सामाजिक अगुवाको रुपमा पनि क्रियाशील बन्दैआएकी छन्।

सामाजिक सुधारकको रुपमा अग्रता कायम गर्दैआएकी हसना शाक्यको सामाजिक योगदान पनि त्यतिकै रहेको छ। तबलाबादक उस्ताद जीवन राईको मुटुको भल्ब फेर्न तथा लोकेशरत्न शाक्यको हर्ट अटेक हुंदा हसना शाक्यवाट भएको सहयोग अतुलनिय नै रहेको छ। उनीहरुले हसना शाक्यलाई जीवनदाताको रुपमा सदा संझने गरेका छन्।

त्यसैगरेर, सिभिल होम सोसाइटीमा शारीरिक स्वस्थताको लागि नृत्यको अभ्यास कार्यक्रम योजना ल्याउने कार्य पनि हसना शाक्यवाटै भएको छ। सिभिल होम सोसाइटीका सदस्यहरुलाई नृत्य निर्देशक रवि रानामगरवाट हप्ताको दुई दिन नृत्यको अभ्यास हुने कार्य हुंदैआएको छ। सुनाकोठी ज्येष्ठ नागरिक सेवामा पनि आवद्ध हसना शाक्यको आपतमा परेका विरामीलाई अस्पताल पु-याउने तथा पोषणयुक्त पोषण उपलव्ध गराउने सामाजिक कार्यमा नै हिजोआज व्यस्तता रहेको छ। त्यसवाट बचेको समयमा गीत–संगीतमा लाग्ने कार्य हुंदैआएको छ।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७५ साल चैत्र १६ गते शनिवार ।