धनगढी। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको लागि काम गर्नुभन्दा पनि सरकारले आफ्नो सर्वसत्तावादी शैलीलाई बढावा दिँदै गएको आरोप लगाएका छन्।

कांग्रेस नेता सिंह एकसाताका लागि पार्टीले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी हुन सुदूरपश्चिमका आधादर्जन जिल्लाहरूको भ्रमणमा शुक्रबार बिहान धनगढी आइपुग्दा पत्रकारहरुसंग कुराकानी गर्दै उक्त आरोप लगाएका हुन्।

सरकारले जनतालाई परिवर्तन र विकासको अनुभूति दिन नसकेको आरोप पनि नेता सिंहले लगाएका छन्। सरकारका क्रियाकलापले जनतामा निराशा भएको नेता सिंहको जिकिर रहेको छ।

सरकारले कहिले विमानस्थलबाट प्राध्यापक पक्राउ गर्छ, कहिले अस्पतालमा उपचार गर्दै गरेको डाक्टरलाई जवरजस्ती उठाएर लैजान्छ’, सिंहले भने, ‘आफ्ना नेताहरूको लगानी हुने गरेर बद्नियतपूर्ण शैलीमा शिक्षा नीति ल्याउन विधेयक संसदमा पेश गर्न खोज्छ।’

डा.गोविन्द केसीको अनशनमा प्रहरी हस्तक्षेप भएकोमा नेता सिंहले विरोध गरे । ‘डा केसीलाई जवरजस्ती रुपमा लाठी चार्ज र फायरिङ गरेर उठाइएको छ’, उनले भने, ‘डा केसीको जीवन रक्षा गर्नुपर्छ । उहाँका माग पूरा गर्नुपर्छ ।’
प्रकाशन मिति–२०७५ साल साउन ४ गते शुक्रबार ।