काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले मार्न मान्छे खटाएको दाबी गरेका छन्।

एकसाथ ‘जनयुद्ध’ लडेका साथीहरूले आफूलाई मार्ने सूची बनाएको आरोप लगाउँदै उनले ‘प्रचण्डलाई नै एक नम्बरमा मार्नुपर्छ’ भनेर टिम खटाएको दस्तावेज भेटिँदा दुःख लागेको बताए।

बिहीबार वाइसीएलले काठमाडौंको कोटेश्वर, पेरिसडाँडामा गरेको शहिद तथा बेपत्ता परिवारको सम्मान कार्यक्रममा उनले ‘प्रचण्डलाई मारेर संघीय लोकतान्त्रिक गणतन्त्र बच्छ त ?भन्दै प्रश्न गरे । आफूलाई मार्न टिम खटाउनेप्रति दया लागेको भन्दै उनले राम्रोसँग सोच्न आग्रह गरे।

राज्य कानुनअनुसार अघि बढ्ने भन्दै उनले ‘जनयुद्ध’को योजनाकर्ता, नेतृत्वकर्ता र शान्ति–प्रक्रियाको पनि नेतृत्वकर्ता भएकाले अन्तिमसम्म लडिराख्ने बताए। ‘विप्लवले प्रचण्डजस्तै बन्छु भनेर नक्कल गरेको’ भन्दै उनले देशमा राजतन्त्रपनि नभएको र २०५२ सालकोजस्तो परिस्थिति पनि नभएकाले विप्लवले केही गर्न नसक्ने बताए।

आफूहरुकै कारण देशमा परिवर्तन भएको दाबी गर्दै दाहालले भने–‘यसकाविरुद्ध लाग्नु भनेको निरंकुशता ल्याउन सघाउनु हो।’
प्रकाशन मिति–२०७५ साल फागुन ३० गते विहीवार ।