काठमाडौ। नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार तथा जनवादी गायक खुसीराम पाख्रिनको मंगलबार हृदयाघातबाट निधन भएको छ।

राससका अनुसार संयुक्त वाम गठबन्धनको आयोजनामा चितवनको भरतपुरमा मंगलबार आयोजित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको श्रद्धाञ्जलिसभामा गीत गाएपछि अस्वस्थ भएका पाख्रिनको अपराह्न उपचारकाक्रममा नारायणी सामुदायिक अस्पतालमा निधन भएको हो। चिकित्सककाअनुसार हृदयाघातका कारण उनको निधन भएको हो।

Late Khushi Ram Pakhrin-Vetran Singer of Nepal.

‘गठबन्धनको कार्यक्रम सुरु हुनु केहीअघि गायक पाख्रिनले एउटा गीत गाएको लगतै एकैछिनमा टाउको दुख्यो भन्दै निस्केका थिए। त्यसको लगतै अपरान्ह २ः५५ बजे अस्पताल पुर्‍याइएकामा केही समयपछि नै चिकित्सकले उनको मृत घोषणा गरेका हुन्।

यसअघि, सोही अस्पतालमा पाख्रिनले रक्तचाप र मधुमेहको नियमित उपचार गराउँदै आएका थिए। पाख्रिनले नै नारायणी सामुदायिक अस्पतालमा जाने भनेपछि उनलाई दिउँसो प्रहरीको गाडीमा राखेर अस्पताल पुर्‍याइएको थियो। मञ्चबाट डोर्‍याएर तल ल्याएर गाडीमा राखेपछि एकपटक वान्ता गरेका पाख्रिनले अस्पतालमा पुगेर पनि एकपटक वान्ता गरेका थिए।

चितवनको भरतपुर महानगरपालिका–१९ रामपुर घर भएका पाख्रिनको जन्म विसं. २००९ मा भएको हो। ६५ वर्षीय पाख्रिनका श्रीमतीसहित एक छोरा र दुई छोरी छन्। एक छोरा भने द्वन्द्वकालमा सहिद भएका थिए।
प्रकाशन मिति–२०७४ साल मंसीर ५ गते मंगलवार ।