काठमाडौं। काठमाडौं महानगरपालिकाले यही आउने फागुन ७ गते मनाइने यो बर्षको ६९ औं प्रजातन्त्र दिवसको मूल कार्यक्रममा सहभागी हुन आउने जनसाधारणलाई सम्माजनक बस्ने ठाउँको व्यवस्था गर्ने भएको छ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा विहीवार बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकले स्थानीय सरकारका प्रतिनिधिलाई आकर्षक सांस्कृतिक झाँकीसहितको सहभागिता गराउने समेत निर्णय गरेको छ।

काठमाडौं महानगरपालिकाले यस बर्षको प्रजातन्त्र दिवस दिन टुँडिखेलमा शौचालय व्यवस्थापन गर्ने, सजावटकालागि गमला, फूललगायतका सामाग्री खरिद गर्ने, टुँडिखेल र आसपास क्षेत्रको सरसफाइ गर्ने, कार्यक्रम स्थलमा खानेपानीको व्यवस्थापन गर्ने, सहरभरिको सफाइ, कार्यक्रम स्थलमा कुर्सीको व्यवस्था गर्ने, हेलिकप्टरबाट गरिने पुष्प वृष्टिकालागि फूल र प्रदर्शन गरिने ३४ मिटर लामो ६९ औं प्रजातन्त्र दिवस लेखिएको व्यानर प्रदर्शन गर्नेलगायतका निर्णय गरिएको मेयर शाक्यले भनेका छन्।

यी कामहरु महानगरले नेपाली सेना, नेपाल प्रहरी, सहरी विकास तथा भवन निर्माण विभाग, स्थानीय सरकार र नागरिकसँगको समन्वयमा सम्पन्न गर्ने योजना बनाएको पनि मेयर शाक्यको भनाई रहेको छ।
प्रकाशन मिति–२०७५ साल फागुन २ गते विहीवार ।