पोखरा। प्रतिनिधिसभा कास्की २ को उपनिर्वाचनमा सत्तारूढ नेकपाकी विद्या भट्टराई विजयी बनेकी छन्। प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई आठ हजार बढी मतान्तरसहित पराजित गर्दै भट्टराई विजयी बनेकी हुन्।

भट्टराईले २४ हजार ३ सय ९२ मत प्राप्त गरी विजयी हुँदा नेपाली काँग्रेसका निकटतम प्रतिस्पर्धी खेमराज पौडेलले १५ हजार ९ सय ८६ मत मात्र प्राप्त गरे।

यसअघिको निर्वाचनमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजित गरेका थिए।

विजयी भएसँगै विद्या भट्टराईलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले खादा ओढाएर बधाई दिएका छन्।
प्रकाशन मिति–२०७६ साल मंसीर १५ गते आइतवार।