काठमाडौं। नेपाली राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिश्वेश्वरप्रसाद कोइराला (बीपी) को १०९ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाउने कार्य भएको छ।

विसं.१९७१ साल भदौ २४ गते जन्मेका बीपी नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता थिए।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर संघर्ष गरेका
बीपी २०१५ सालको चुनावपछि पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए। आफ्नो प्रधानमन्त्रीकालमा उनले देशबाट बिर्ता उन्मूलन तथा भूमि सुधारलगायतका सुधारात्मक काम सुरू गरेका थिए।

नेपाली कांग्रेसको नेतृत्वमा विसं.२००७ सालमा राणा विरोधी क्रान्ति सफल गराउन बीपीको योगदान अनुलनीय रहेको छ। विसं.२०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरिएपछि बीपी लगायत नेताहरुलाई तत्कालिन सरकारले बन्दी बनाएको थियो।

विसं.२०२५ सालमा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएका बीपीले ८ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए। विसं.२०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्केका थिए ।

बीपीको नेपाली साहित्य क्षेत्रमा पनि महत्वपूर्ण योगदान छ। उनका डेढ दर्जन कृति प्रकाशित छन्। बीपीका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’, एवं ‘बाबुआमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन्। त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ।

बीपीको क्यान्सर रोगका कारण विसं.२०३९ साउन ६ गते निधन भएको थियो।
प्रकाशन मिति–२०७९ साल भाद्र २४ गते शुक्रवार ।