काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका संवन्धमा अनरगल प्रचार भएपछि प्रधानमन्त्री ओली आफैले विज्ञप्ति मार्फत ठीक रहेको र स्वास्थ्यमा क्रमिक सुधार भैरहेको भनेका छन्।

प्रधानमन्त्री ओली उपचार्थ रहेको काठमाडौंको महाराजगंजस्थित त्रिविवि शिक्षण अस्पतालले पनि विज्ञप्ति मार्फत ओलीको पछिल्लो स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको जनाएको छ।

अस्पतालले प्रधानमन्त्री ओलीको संक्रमण नियन्त्रण गरी ओलीको स्वास्थ्यलाभ गराउनु पहिलो प्राथमिकता भएकाले ओलीलाई भेटघाट गर्न प्रतिबन्ध लगाइएको जनाएको छ। प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्ने महानुभावको आकांक्षालाई आत्मसात् गरिएतापनि भेटघाट गराउन नसकिने अस्पतालको विज्ञप्तिमा उल्लेख छ।

यसैवीच प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालवाटै विज्ञप्ति जारी गर्दै धर्म, संस्कृति वा दलीय बहसका नाममा आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनैपनि कार्य मान्य हुन नसक्ने बताएका छन्। प्रधानमन्त्री ओलीले मुलुकका केही भागमा हालै भएका घटनाप्रति आफू जानकार र संवेदनशील रहेको उल्लेख गरेका छन्।

ओलीले दंगा, हुलहुज्जत र हिंसाबाट सामाजिक सद्भाव बिथोल्ने कार्यले सुशासनलाई बिथोल्ने जनाउँदै शान्ति–सुव्यवस्था भंग गर्ने आपराधिक कार्यबाट समृद्धिको महाअभियान बिथोलिने र विकासको मार्ग भत्किनेतर्फ सबैलाई सचेत गराएका छन्।
चिकित्सकले दिएको जानकारीका आधारमा आफू अस्पतालबाट चाँडै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने उल्लेख गर्दै उनले विगतमा झैं समग्र देशवासीबाट सहयोग र सद्भाव निरन्तर पाउने अपेक्षा गरेका छन्।

प्रधानमन्त्री ओलीले केही सामाजिक सञ्जाल र डिजिटल सन्चारमाध्यमबाट आफ्नो स्वास्थ्यकाबारेमा गरिएको प्रचारबाजीबाट प्रभावित नहुन सबैलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्–‘सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय भएका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाकाबारेमा गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यकरुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारबाजीको मलाई जानकारी छ । यस प्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।’

प्रधानमन्त्री ओलीले सन्देशमा मौसमी रुखाखोकी र त्यसबाट हुनसक्ने संक्रमणको रोकथामका लागि आफू उपचार गराइरहेको उल्लेख गरेका छन् । उनले आफ्नो स्वास्थ्यकाबारेमा चासो र चिन्ता गर्ने राष्ट्रपति, उपराष्ट्रपति, विभिन्न दलका नेता, संवैधानिक अंग, विदेशी कूटनीतिक नियोग, कर्मचारीलगायत स्वदेश तथा विदेशबाट आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।


प्रकाशन मिति–२०७५ साल कात्तिक १४ गते बुधवार ।