काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली राजकीय भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा त्यसतर्फ गएका हुन्। आज बिहान ओली विशेष विमानबाट चीन प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी छन्।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार उनले चीनका वरिष्ठ नेतासँग भेटवार्ता गर्नाका साथै नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत् समूहलाई बेइजिङमा सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्नेछन् । त्यहाँ उनले तिब्बतका प्रान्तीय नेतासँग भेटवार्ता गर्नेछन्। प्रधानमन्त्रीका साथ सरकारी प्रतिनिधिमण्डलमा ४२, सञ्चारकर्मी ६ र बेइजिङस्थित नेपाली दूतावासका आठ जना सहभागी छन्।

त्यसैगरी विभिन्न सञ्चारमाध्यमका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार ११ र उद्योगी व्यापारीको टोलीमा ५२ जना सहभागी छन्। प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही असार १० गते स्वदेश फर्कनेछ। प्रधानमन्त्री ओलीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन्। त्यसैगरी पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाललाई दिएका छन् ।
प्रकाशन मिति–२०७५ साल असार ५ गते मंगलवार ।