काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली फेरि विरामी परेका छन्। प्रधानमन्त्री ओलीलाई एकाएक सोमवार राति अत्यन्त पेट दुखेपछि अस्पताल भर्ना भएका ओलीको मंगलवार ‘एपेन्डिसाइटिस’को शल्यक्रिया गरिएको छ।

मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उनको शल्यक्रिया गरिएको हो। स्वास्थ्य परीक्षणपछि एपेन्डिसाइटिस भएको थाहा भएपछि शल्यक्रिया गरिएको हो।

प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिव्यासिंह शाह, डा.रमेशसिंह भण्डारीलगायतको टोलीले ओलीको शल्यक्रिया गरेको हो। अस्पतालका कार्यकारी निर्देशक डा.उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिससहित पेटको संक्रमण देखिएपछि शल्यक्रिया गरिएको भनेका छन्। ओलीलाई केही दिन अस्पतालमै राखिने डा.श्रेष्ठको भनाई छ।

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा.अरुण सायमीले प्रधानमन्त्रीको एपेन्डिसाइटिसको समस्याकै कारण पेटको संक्रमण देखिएको बताएका छन्। शल्यक्रियापछि प्रधानमन्त्रीलाई ‘आइसीयु’कक्षमा राखिएको र स्वास्थ्य अवस्था स्थीर रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसअघि, प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या देखिएका कारण गएको कात्तिक र यही मंसिर महिनामा गरी चारपटक ‘डायलासिस’ गरिसकिएको छ। प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो।
प्रकाशन मिति–२०७६ साल मंसीर १० गते मंगलवार ।