KP Sharma Oliकाठमाडौ। केही दिनदेखि अविश्वासको प्रस्ताव नेपालको व्यवस्थापिका संसदमा झेल्दैआएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतवार संसदमा लामै जवाफ दिने भएको छ। व्यवस्थापिका संसदमा विहान ११ बजे नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठवन्धनले संसदमा पेश गरेको प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वासको प्रस्तावमाथि छलफलमा भाग लिन नाम टिपाएका सांसदहरुले बोलेपछि प्रधानमन्त्री ओलीले बोल्ने भएको छ। 

प्रधानमन्त्री ओलीले संसदमा जवाफ दिएपछि आइतबार नै अविश्वासको प्रस्तावमाथि मतदान हुने संसद सचिवालयले जनाएको छ।ओलीविरुद्धको अविश्वास प्रस्ताव बहुमतले पारित हुने दाबी कांग्रेस एमालेका नेताहरुले गरेका छन्। ओली नेतृत्वको मूख्य घटक माओवादी केन्द्रपछि सत्तासाझेदार मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दल सरकारबाट बाहिरिएसँगै अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेपछि बहुमतले पारित हुने पक्कापक्की भएको हो।

अविश्वासको प्रस्तावको पक्षमा नेपाली कांग्रेससहित १३ दलको समर्थनमा असार २९ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा दर्ता अविश्वास प्रस्तावको सूचना दर्ता गराएका थिए। अविश्वासको पक्षमा झन्डै ३ सय ७० मत पर्ने नेताहरुको दाबी छ। संसदमा कांग्रेस, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, राप्रपा लगायत १९ दल प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा देखिएका छन्।
प्रकाशन मिति–२०७३ साल साउन ९ गते आइतवार ।