काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यको कारण अस्पताल भर्ना भएका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार विहान साढे ४ बजे शिक्षण अस्पताल, महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो।

केही दिनदेखि स्वास्थ्यमा प्रतिकुलता भएपछि रेष्टमा रहेका प्रधानमन्त्री ओलीलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार गर्नुपर्ने भएकोले अस्पताल भर्ना गरिएको बताइएको छ। प्रधानमन्त्री ओलीको छातीमा संक्रमण देखिएको छ भने शरीरमा चिनीको मात्र असन्तुलित पाइएको छ।

ओलीको पछिल्लो परीक्षणका रिपोर्टहरु सुधारोन्मुख रहेको र स्वास्थ्य स्थिति स्थिर रहेको जानकारी अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.उत्तमकृष्ण श्रेष्ठले साँझ ६ बजेको अपडेटमा भनेका छन्।

प्रधानमन्त्री ओलीको करिव १२ वर्षअघि दुवै मिर्गौला प्रत्यारोपण गरिएको थियो। ओली नियमित फलोअपका लागि बैंकक जाने गरेका थिए। चिकित्सकहरुले ओलीलाई भीडभाड, धुँवाधुलो र धेरै तनावबाट टाढा रहन सुझाव दिएका थिए। तरपनि, ओली निरन्तर राजनीतिमा सक्रिय रहँदै आएका छन्।

ओलीलाई शीर्ष नेताहरुले मात्र भेट्न दिइएको छ। डाक्टरहरुले कम कुरा गर्न भनेका छन्। तर, ओलीले भने भेट्न आउने नेताहरुसँग कुराकानी गर्ने गरेका छन्। प्रधानमन्त्री ओली केही दिन अस्पतालमै रहनेछन्। ओलीको उपचारमा डा.अरुण सायमीको नेतृत्वमा डा. दिब्यासिंह शाह, डा. सन्तकुमार दासको टोली संलग्न रहेको छ।
प्रकाशन मिति–२०७५ साल कात्तिक १२ गते सोमवार ।