काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रीपरिषदमा हेरफेर गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले केही नयाँ मन्त्री नियुक्ति र केहीको जिम्मेवारी हेरफेर तथा केहीलाई हटाउन बुधवार स्वीकृति दिएकी छन्। भण्डारीले संबिधानको धारा ७६ (क) को उपधारा (९) बमोजिम नयाँ मन्त्रीपरिषदको गठन गरेकी हुन् ।
   मन्त्रीपरिषद पुनर्गठनसँगै यसअघि पटकपटक विभिन्न मन्त्रालय सम्हाली सकेका हृदयेश त्रिपाठीको सरकारमा एण्ट्री भएको छ । उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा लेखराज भट्टले पाएका छन् । हालसम्मका मन्त्री मात्रिकाप्रसाद यादवले निजीक्षेत्रलाई चिढ्याएकोमा प्रम ओली रुष्ट भएको नेकपाका नेताहरु बताउँछन् ।
   त्यसो त कर वृद्धि तथा सेयरबजारको गिरावटको दोषको भागीदार बनाइएका अर्थमन्त्री डा. खतिवडालाई भने ओलीले चलाएका छैनन। यसका साथै उद्योग राज्यमन्त्रीका रुपमा नाम चलेका व्यवसायी मोतिलाल दुगडलाई ल्याइएको छ । त्यसैगरी सत्ताधारी दल नेकपामा वैचारिक नेताको परिचय बनाएका घनश्याम भुसाललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय दिइएको छ । भानुभक्त ढकाल र उपेन्द्र यादवको जिम्मेवारी हेरफेर गरिएको छ भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वसन्तकुमार नेम्बाङलाई ल्याइएको छ ।
    सरकारका मन्त्रीहरुमध्ये राम्रै गरेको भन्दै जस पाएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट भने सरकारबाट बाहिरिएका छन् । उनको ठाउँमा रामेश्वर राय यादवलाई ल्याइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा थममाया थापामगरको विदाइ गरी पार्वत गुरुङलाई ल्याइएको छ । काठमाडौंको प्रतिनिधित्व गर्दै काठमाडौंका सांसद कृष्णगोपाल श्रेष्ठलाई मन्त्री बनाइने हल्ला आएतापनि उनको स्थानमा काठमाडौंकै रामवीर मानन्धरलाई मन्त्री बनाइएको छ। त्यो पनि शहरी विकास राज्यमन्त्रीमा मानन्धरलाई नियुक्त गरिएको छ।
यस्तो छ –नयाँ मन्त्रीपरिषद
क्र.सं. नाम, थर कार्यविभाजन
१ केपी शर्मा ओली – प्रधानमन्त्री
२ ईश्वर पोखरेल – उपप्रधानमन्त्री, रक्षा
३ उपेन्द्र यादव – उपप्रधानमन्त्री, कानुन, न्याय तथा संसदीय मामिला
४ रामबहादुर थापा – मन्त्री, गृह
५ प्रदीपकुमार ज्ञवाली – मन्त्री, परराष्ट्र
६ हृदयेश त्रिपाठी – मन्त्री, सङ्घीय मामिला तथा सामान्य प्रशासन
७ गिरिराजमणि पोखरेल – मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि
८ बर्षमान पुन – मन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइ
९ घनश्याम भुसाल – मन्त्री, कृषि तथा पशुपन्छी विकास
१० भानुभक्त ढकाल – मन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या
११ लेखराज भट्ट – मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति
१२ योगेशकुमार भट्टराई – मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१३ शक्तिबहादुर वस्नेत – मन्त्री, वन तथा वातावरण
१४ रामेश्वर राय यादव – मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१५ युवराज खतिवडा – मन्त्री, अर्थ
१६ मोहम्मद इश्तियाक राई – मन्त्री, सहरी विकास
१७ जगतबहादुर सुनार (विश्वकर्मा) – मन्त्री, युवा तथा खेलकुद
१८ गोकुलप्रसाद वाँस्कोटा – मन्त्री, सञ्चार तथा सूचना प्रविधि
१९ पद्माकुमारी अर्याल – मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
२० बीना मगर – मन्त्री, खानेपानी
२१ वसन्तकुमार नेम्बाङ्ग – मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
२२ पार्वत गुरुङ – मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
२३ मोतीलाल दुगड – राज्यमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति
२४ नवराज रावत – राज्यमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या
२५ रामबिर मानन्धर – राज्यमन्त्री, शहरी विकास
प्रकाशन मिति–२०७६ साल मंसीर ४ गते बुधवार ।