काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लब) २ वर्षपछि सार्वजनिक हुने भएका छन् । बिहीबार सरकारसँग ३ बुँदे सहमति भएपछि चन्द नेतृत्वको नेकपा हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आउन तयार भएको हो ।

फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन्। सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने भएको छ।
सरकारसँगको सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत विषयहरु रहेका छन् ।

विसं.२०६९ को असारमा पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीप्रति असन्तुष्टि जनाउँदै मोहन वैद्यको नेतृत्वमा छुट्टै नेकपा माओवादी क्रान्तिकारी गठन गरिएको थियो । तर विसं.२०७१ मंसिरमा मोहन वैद्य नेतृत्वको उक्त पार्टी क्रान्तिकारी हुन नसकेको भन्दै चन्दले नेपाल कम्युनिस्ट पार्टी गठन गरेका थिए । दाहाल नेतृत्वको पार्टीले माओवादी आन्दोलन छाडेको जनाउँदै चन्दले आफूहरु मूलधारको माओवादी भएको बताउँदै आएका थिए ।
प्रकाशन मिति–२०७७ साल फागुन २० गते विहीवार ।