ललितपुर । चलचित्र ‘परदेशी–२’ को शुभमुहूर्त भएको छ । प्रशान्त तामाङ, प्रकाश सपुत, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाहलगायतका कलाकारको प्रमुख भूमिका रहने चलचित्र ‘परदेशी–२’ को शुक्रबार वैदिक विधि अनुसार ललितपुरको कार्य विनायक मन्दिरमा पूजा अर्चना गरी चलचित्रको शुभसाइत गरिएको हो।

कार्यविनायक मन्दिरमा पूजा सम्पन्न भए लगत्तै शुक्रबार नै दक्षिणकाली मन्दिरमा समेत पूजा गरिएको थियो। ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता दुई सफल चलचित्रका लेखक र निर्देशक नारायण रायमाझीले आफ्नो तेस्रो चलचित्र ‘परदेशी–२’ को शुभमुहूर्त सम्पन्न गरेका हुन्।

‘परदेशी–२’ नेपाली गाउँबस्ती रित्तिएको कथा हो । नेपाली समाजमा बढ्दो परदेश मोहको कथा हो । सुनौलो भविष्यको सपना बोकेर परदेशिएका तमाम नेपाली युवा र उनीहरुको सङ्घर्षमय जीवनको कथा हो । बाध्यता या रहरले बिदेशिएका युवा र तिनका अभिभावकहरुले देखेको मीठो सपना अनि वास्तविक भोगाई र कठिनाईहरुको यथार्थ कथा हो । अनि मातृभूमिबाट टाढा गएपछि आफ्नो परिवार, समाज, उकाली ओराली र सिङ्गो देशको यादले सताएको कथा हो ।

मुभिज डटकमको व्यानरमा निर्माण हुन लागेको ‘परदेशी–२’ मा राजेश वंशल र नारायण रायमाझी निर्माताको रुपमा रहने छन्। पोखरा, पाल्पा, काठमाडौं, भारतको गोरखपुर र अमेरिकामा छायाङ्कन हुने यो चलचित्रको लगभग दुई महिनामा सम्पूर्ण छायाङ्कन सकिने अनुमान गरिएको छ ।
प्रकाशन मिति–२०७६ साल फागुन १० गते शनिवार ।