काठमाडौं। नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक सुरक्षा कार्यालयमा कार्यरत् प्रहरीजवान रमिता श्रेष्ठले गायिका आस्था राउतविरुद्ध महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा उजुरी दिएकी छन्।

विमानस्थलको सुरक्षा जाँचका क्रममा गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीजवान श्रेष्ठले शुक्रबार उजुरी दिएकी हुन्। उजुरीमा आफूमाथि अभद्र व्यवहार गर्ने राउतलाई कानुनअनुसार हदैसम्मको कारबाही गर्न माग गरिएको छ।

गएको बुधबार काठमाडौंबाट भद्रपुर जान लागेकी गायिका आस्था राउतले विमानस्थलमा सुरक्षा जाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठसँग भएको भनाभनलाई लिएर फेसबुकमा प्रहरी संगठन र सुरक्षाकर्मीहरुलाई गाली–गलौज गरेको भिडियो सार्वजनिक गरेकी थिइन्।

गायिका राउतले विमानस्थलमा सुरक्षा जाँचका नाममा आफूमाथि दुर्व्यवहार भएको दाबी गर्दै सामाजिक सञ्जालमा ‘आपत्तिजनक शब्द’सहितको भिडियो हालेकी थिइन्। तर, विमानस्थलबाट प्राप्त ‘सीसीटीभी फुटेज’मा भने गायिका राउतले सुरक्षा जाँचमा अटेर गर्न खोजेपछि भनाभन भएको देखिन्छ।

आफू गायिका भएको भनेर नियमलाई पालना नगरिकन महिला प्रहरीजवानलाई अटेर गरेको र महिला प्रहरीले गायिका राउतले लिएर आएको कफी पनि लैजान भन्दा उल्टै निहुँ खोजेको पाइन्छ। जुन गायिका राउतको ठाडै गल्ती देखिएको छ।
प्रकाशन मिति–२०७६ साल माघ ३ गते शुक्रवार ।