–इच्छारानी थापा
काठमाडौं। वर्तमान समयमा समाजसेवाका क्षेत्र विस्तारित भएका छन् । सँगसँगै समाजसेवीको संख्यामा पनि उल्लेखनीय वृद्धि भएको छ। स्थानीय स्तरदेखि देशका प्रायः सबै जिल्लामा समाजसेवी छन्। शिक्षा, स्वास्थ्य क्षेत्रमा योगदान पु–याउने धेरै देखिन्छन्।

वृद्धवृद्धा तथा ज्येष्ठ नागरिकका कल्याणका लागि, बेचविखनमा परेका महिला, चेलीबेटी तथा बालबालिकाको उद्धार र पुनस्र्थापनाका लागि, धार्मिक आध्यात्मिक उन्नतिका लागि, विपन्न समाजमा आवास निर्माण तथा प्रकोप पीडितहरूको उद्धार र सेवा कार्य आदि अनेक क्षेत्रमा धेरै नेपाली लागिपरेका छन्। त्यसमध्येका एक नेपाली काठमाडौंको पूर्वी क्षेत्र साँखु शंखरापुर नगरपालिका वडा नंबर ९ इन्द्रायणीका सामाजिक अगुवा प्रकाश श्रेष्ठलाई त्यसवरपरका सवैले सम्झने गरेका छन्।

कला र कलाकारितालाई अत्यन्त माया तथा स्नेह गर्ने अभिनेता समेत रहेका प्रकाश श्रेष्ठ कोभिड–१९ को कारण नेपालमा कोरोना संक्रमणको आक्रान्तको बेला सामाजिक रुपमा अत्यन्त सक्रिय बनेका थिए । उपचारको लागि अस्पताल जान कुनैपनि सवारी साधन नपाएको त्यो अवस्थामा आफ्नो प्राइभेट कारलाई पब्लिक एम्बुलेन्सको रुपमा प्रयोग गर्ने र गराउने कार्यमा प्रकाश श्रेष्ठको त्यो योगदानलाई शंखरापुरवासीले सम्झने गरेका छन्।

कोरोना कालपछिका दिनहरुमा पनि कही कतै कसैलाई आपत विपद परेको अवस्थामा सक्दो सामाजिक सेवा गर्न पछि नपर्ने प्रकाश श्रेष्ठ आमा सन्तमाया श्रेष्ठ तथा पिता राम श्रेष्ठको कोखवाट विसं.२०३२ चैत्र ७ गते जन्मेका हुन्। पत्नी कुसुम, छोरी प्रकृति र छोरा उज्ज्वलका साथमा सुखी–खुशी रम्दैगरेका अभिनेता श्रेष्ठको कला यात्रा भने, विसं.२०५२ सालवाट भएको हो। त्यो बेलाका ख्यातिप्राप्त नृत्य निर्देशकहरु बसन्त श्रेष्ठ तथा कमल राईव्दारा प्रशिक्षित श्रेष्ठले त्यही बेला नै एक सयभन्दा बढी ठूला पर्दाका चलचित्रहरुमा साइड डान्सर भएर अभिनय गरेका थिए।

त्यस्तै, एक सयभन्दा बढी गीतका म्युजिक भिडियोहरुमा पनि साइड डान्सर भएर कार्य गरिसकेको वताउने उनी केही ठूला पर्दाका चलचित्रमा खलनायक तथा सह खलनायक बनेर अभिनय गरेको बताउछन्। अलक्षिना, कर्म छोरी लगायतका टेलिचलचित्रमा मुख्य भूमिकामा अभिनय गरेका उनले चुरोट तथा चर्तिकला नामक सटमूबीहरुमा पनि अभिनय गरेका छन्।

विभिन्न स्कुल तथा कलेजहरुमा डान्स टिचरको रुपमा कार्य गर्दैआएका उनले केही म्युजिक भिडियोहरुमा कोरियोग्राफी समेत गरिसकेका छन्। तत्कालिन बडामहारानी कोमल राज्यलक्ष्मी शाह तथा नवयुवराज हृद्यन्द्रको समक्ष लाइभ डान्स गरेर प्रमाण पत्र पाएको तथा एनटीभि, इमेज च्यानल, एनटीभि प्लस लाइभ जस्ता थुप्रै कार्यक्रमहरुमा लाइभ डान्स गरेर गौरबमय कार्य गर्न पाउदा अत्यन्त गर्ब लागेको पनि उनले बताए।
छिमेकी राष्ट्र भारतको गोवा, नयाँ दिल्ली तथा इजिप्टमा आयोजित विशेष सम्मान तथा अवार्ड कार्यक्रममा समेत सम्मान तथा अवार्ड पाएका उनी कला र कलाकारिता आफ्नो जीवनको टर्निङ प्वाइन्ट नै भएको बताउछन्। कलाकारिता र समाज सेवामा बाँचुञ्जेल लाग्ने प्रतिबद्धता पनि उनको छ।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७९ साल चैत्र २० गते सोमवार ।