काठमाडौं। नेपालको अत्यन्त प्राचिन तथा ऐतिहासिक दुई सम्पदा स्वयम्भू र हनुमानढोका दरबार क्षेत्रलाई जोड्न गुरुयोजना सार्वजनिक गरेको छ। विश्वसम्पदा दिवस २०७६ का अवसरमा पारेर विहीवार काठमाडौं महानगरपालिकाले उक्त गुरुयोजना सार्वजनिक गरेको हो। गुरुयोजनामा हनुमानढोकादेखि स्वयम्भू जोड्ने पदयात्राले हिन्दूशैली र परम्परालाई बुझ्नका लागि पदयात्राको प्रवद्र्धन गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

यी दुई सम्पदा र यस बीचमा रहेको अन्य जीवनशैली वास्तुस्थितका बारेमा जानकारी दिनका लागि ‘मास्टर प्लान अफ हनुमान ढोका दरबार स्क्वायर टु स्वयम्भू वल्ड हेरिटेज’ नामक पुस्तक पनि सार्वजनिक गरेको छ। यी दुई सम्पदाबीचको दूरी २ दशमलव २ किलोमिटरको दुरीमा रहेको छ।

यस दुरीमा गुम्बा, मन्दिर, ढुङ्गेधारा, पाटी प्रशस्तै रहेकाले यस स्थानलाई तय गरिएको काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले बताएका छन्। मेयर शाक्यले काठमाडौं शहरलाई निरन्तररुपमा सम्पदाको शहरका रुपमा जीवन्त राख्नका लागि गुरुयोजनाले ठूलो सहयोग गर्ने जिकिर गरेका छन्।

पदयात्रा मार्गमा काठमाडौं महानगरका १५, १८, १९, २०, २३ र २४ वडाहरु रहेको जानकारी महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भिजन संसार डटकमलाई भनेका छन्। गुरुयोजनामा संस्कृति तथा रीतिलाई पर्यटकीय व्यवस्थापनसँग जोडेर स्थानीय जीविकोपार्जन सुधार गर्ने र मूर्त तथा अमूर्त सांस्कृतिक पक्षको पुस्तान्तरण गर्ने कार्यलाई लक्ष्य बनाइएको जानकारी पनि प्रवक्ता डंगोलले दिएका छन्। गुरुयोजनाले संस्कृतिको पहिचान, अभिलेखीकरण र संरक्षण गर्नु प्राथमिकरुपमा अघि सारेको   छ।
प्रकाशन मिति–२०७६ साल बैशाख ५ गते विहीवार ।