• काठमाडौ। प्राचिन नगरी भक्तपुरको ऐतिहासिक र धार्मिक महत्व बोेकेको बिस्केट जात्रा आजबाट शुरु भएको छ। चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म गरेर आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने विस्केट जात्रा बिहान भैरवनाथको नित्य पूजावाट प्रारम्भ भएको छ।

  • विस्केट जात्राको पहिलो दिन भक्तपुरको पाँचतले मन्दिर अगाडि राखिएको काठै–काठले प्यागोडा शैलीमा निर्माण गरिएको तीन तले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देउतालाई विराजमान गराई पूरा गरेर साँझ रथ तानेर जात्रा शुरु हुन्छ।

  • जात्रामा टोल–टोलबीच प्रतिष्ठाका लागि रथलाई आ–आफ्नो पक्षमा राख्न होडबाजी चल्ने गर्दछ । वैशाख संक्रान्तिको अवसरमा मनाउने बिस्केट जात्रा आठ दिनसम्म चल्दछ। यो जात्रा विक्रम सम्वतको नयाँ वर्षलाई स्वागत गरी मनाइन्छ। भक्तपुरका विभिन्न पुराना बस्तीको अलावा काठमाडौंको टोखा र काभ्रे जिल्लाको खरपुमासमेत बिस्केट जात्रा मनाउने चलन रहेको छ ।

  • बिस्केट जात्रा र यसको नामांकरण सर्प मारेको किवदन्तीमा आधारित छ । विश्व यात्रा शब्द अपभ्रंश भएर बिस्का जात्रा हुँदै बिस्केट जात्रा भएको विश्वास गरिन्छ। ग्रह, नक्षत्र तथा राशीमा आधारित यो जात्रा, मीन राशीबाट मेश राशीमा प्रवेश गरेको समयान्तर अर्थात् चैत मसान्तदेखि शुरु भएर वैशाखको पहिलो हप्तासम्म मनाइन्छ।

  • विस्केट जात्राकै अवसरमा मध्यपुर थिमीको लायकु, बालकुमारी, चपाचो, नगदेश र बोडेमा वैशाख २ गतेका दिन खटसहितको अबिर जात्रा मनाइने गरिन्छ। मध्यपुर थिमी नगरपालिका स्थित बोडेमा जिब्रो छेड्ने जात्रा भव्यताका साथ मनाउने प्रचलन छ। यो बर्ष बोडेमा बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडाएर यस जात्रालाई निरन्तरता दिने भएको छ।

  • प्रकाशन मिति–२०७४ साल चैत्र २७ गते मंगलवार ।