काठमाडौं। नेपालको प्राचिन संस्कृति र परम्परा वोकेको भक्तपुरको विश्वप्रसिद्ध विस्केट जात्रा शुरु भएको छ। चैत्र २७ गतेदेखि वैशाख ५ गतेसम्म आठ रात नौ दिन धुमधाम मनाइने बिस्केट जात्रा बुधबार बिहान भैरवनाथको नित्यपूजासँगै शुरु भएको हो।

बिस्केट जात्राको पहिलो दिन काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पूजा गरी साँझ रथ तानेपछि यो बर्षको विस्केट जात्रा शुरु भएको हो। जात्राको पहिलो दिन तौमढीबाट रथ तान्न सुरु गरेको रथ तौमढी क्वाछें, सुकुलढोका हुँदै गोल्मढी पुर्‍याएर पुनःतौमढी ल्याई बोलाछें नासमना हुँदै गहिटी पुर्‍याउने प्रचलन छ । जात्रामा रथको अगाडि भागमा ६ र पछाडि ४ वटा लामो लठारो डोरी समातेर दुवैतर्फ जात्रालुले रथलाई होस्से–हैस्से गर्दै आफ्नो तर्फ तानेर जात्रा मनाइन्छ। माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ।

रथ तानातान गर्नु नै यस जात्राको मुख्य आकर्षण र विशेषता हो। यसलेगर्दा पनि भक्तपुरको विस्केट जात्रामा कतिपय अवस्थामा अप्रिय घटना पनि हुने गरेको छ। विस्केट जात्रा सर्प अथवा नागनागिनी मारियो भन्ने भावमा मनाउँदै आएको किंबदन्ती छ।किंबदन्ती अनुसार प्राचीन समयमा भक्तपुरमा भक्तग्राम जङ्गल थियो।

लिच्छविकालीन राजाको एकमात्र सुन्दरी छोरी थिइन्। राजाले आफ्नी छोरीको विवाह गर्न धेरै प्रयास गरे पनि सफल भएन। पछि राजाले आफ्नी छोरी विवाह गर्ने पुरुषलाई राजगद्दी नै सुम्पने प्रस्ताव राखेका थिए। राजगद्दीको लोभमा विवाह गर्ने धेरैजना पुरुषले राजकुमारीसित पहिलो रातमै ज्यान गुमाउनु परेको थियो। जसले गर्दा राजाले आफ्नी छोरीको शयन कक्षबाट हरेक बिहान लास उठाई मसानघाट पुर्‍याउने मलामी गुठीको समेत स्थापना गर्नुपरेको थियो।

एक दिन सिकारी युवक घुम्दै जाँदा हनुमन्ते खोला किनारमा एक तान्त्रिक वृद्धासित भेट भएछ। ती तान्त्रिक वृद्धाले ती युवकलाई त्यस रहस्यको सम्पर्ण कुरा बताई राजकुमारीसित विवाह प्रस्ताव राख्न निर्देशन दिए। भोलिपल्ट बिहान लास उठाउन जाँदा युवक जिउँदो रहेको र राजकुमारी पति पाएर खुसी भइरहेकी पाउँदा सबै आश्चर्यमा परेका थिए।

अन्ततः ती युवकले रातभरि जाग्राम बसी राजकुमारीको दुई नाकको प्वालबाट निस्केका भाले–पोथी नागनागिनीले डस्न खोज्दा तरवारले दुई टुक्रा पारेपछि मृत्युबाट बचेको रहस्य सुनाएछन् । यसरी युवकले राजकुमारीको नाकबाट निस्किएको सर्पलाई काटेर मार्न सफल भएपछि राजकुमारीसँग बिहे गर्न सफल भएको दिनदेखि नै त्यही सर्पको अन्त्येष्टिको सम्झनामा भक्तपुरवासीले बिस्केट जात्रा मनाउन थालिएको किंवदन्ती छ।

भक्तपुर नगरीको अलावा भक्तपुर जिल्लाकै मध्यपुर थिमी नगरपालिकामा पनि विस्केट जात्रा मनाइने गरिन्छ। भक्तपुर नगरीमा मनाइने विस्केट जात्राभन्दा फरक ढंगवाट मनाइने मध्यपुर थिमी नगरपालिकाका तीन शहर ठिमी, बोडे तथा नगदेशमा देवीदेवताका खटजात्रा निकालिने गरिन्छ। ठिमी र नगदेशमा बैशाख २ गते भव्य सिन्दूर जात्रा तथा बोडेमा विश्वविख्यात जिब्रो छेडाउने जात्रा हुने गर्दछ।
प्रकाशन मिति–२०७५ साल चैत्र २८ गते विहीवार ।