काठमाडौं। आफूले मन पराएको युवतीलाई अरु कसैले मन पराएको तथा आफ्नो प्रेमलाई युवतीले अस्वीकार गरेको आवेशमा युवतीलाई एसिड प्रहार गर्न लगाउने र प्रहार गर्ने दुवै पक्राउ परेका छन्। २२ बर्षिया युवतीलाई एसिड प्रहार गर्ने दुवैलाई विहीवार राति प्रहरीले पक्राउ गरेका हुन।

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले बिहीवार राती नै उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा रौतहटको लक्ष्मीपुर घर भइ काठमाडौं डल्लु बस्दै आएका मोहम्मद आलम र भारत घर भएका मुन्ना मोहम्मद रहेका छन्।

सीसी क्यामरा फुटेज लगायतका सूचनाको आधारमा उनीहरुलाई राति नै डल्लु क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। एसिड प्रहार भएकी युवतीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। आलम कवाडीको पसल चलाउँदै आएका व्यक्ति हुन्। आलमले मुन्नालाई एसिड सहित युवतीको कोठा नजिकै पुर्‍याएको देखिएको छ।

त्यसपछि दही किन्न हिँडेको युवतीलाई आलमले नै
चोकसम्म मोटरसाइकलमा लिफ्ट दिएका थिए। नागर्जुन नगरपालिका ४ सिर्जना टोलमा मुन्नाले एसिड प्रहार गरेका थिए। आलमलाई ती युवतीले चिन्ने भएकाले उनले मुन्नालाई एसिड हान्न लगाएका थिए। आफू भने अलि परै बसे। त्यसपछि मुन्नालाई मोटरसाइकलमा राखेर उनले डल्लु लगेका थिए । रातारात मुन्नालाई भारत भगाउने योजना बनाइएको थियो । तर उनीहरु उम्किन पाएनन् ।

सीसी टिभी फुटेज र युवतीले दिएको बयान तथा प्रतक्ष्यदर्शीको भनाइलाई आधार बनाउँदै प्रहरीले राति ११ बजे डल्लुमा रहेको उनीहरुको कोठा पुगेर पक्राउ गरेको हो।

उनीहरुले युवतीले प्रेम अस्वीकार गरेकाले एसिड प्रहार गरेको प्रहरीलाई मौखिक बयान दिएका छन्।

आलमको आग्रहअनुसार मुन्नाले युवतीमाथि रक्सीको बोतलमा राखेर एसिड प्रहार गरेको खुलेको छ। युवती र आलम मोहम्मदबीच काठमाडौंको एक क्यासिनोमा काम गर्ने क्रममा चिनजान भएको थियो ।

प्रकाशन मिति–२०७७ साल साउन ९ गते शुक्रवार ।