काठमाडौं। हरेक मानिसमा यतिखेर फरक सोच हुनु आवश्यक छ। फरक सोचले नै आनीबानीमा परिवर्तन आउने गर्दछ। त्यो आनीबानी परिवर्तन गर्न सहज कार्य त अवश्य पनि होइन्। तर, त्यो सोचमा परिवर्तन गर्न सकेमा युगान्तकारी परिवर्तन गर्न सक्ने राय तथा ठहर पर्यटन व्यवसायी रमेश श्रेष्ठको रहेको छ।

काठमाडौंको प्रमुख पर्यटकीय स्थल ठमेलको ठमेल हाउस रेष्टुरेन्ट तथा हिमालयन ग्रील रेष्टुरेन्टसंग आवद्धता जनाउने बरिष्ठ कलाकर्मी समेत रहेका रमेश श्रेष्ठ हरेक दिनजस्तो मानिसमा नयाँ सोचको विकास भैरहेको र त्यस सोचमा पनि होटल व्यवसायीहरुले पुरानै ढर्राको व्यवसायमा परिवर्तन गरेर शहरी होम–स्टेको विकास गर्न आवश्यक भैसकेको जिकिर गर्छन्।

      केही बर्षअगाडिवाट नेपालका ग्रामिण क्षेत्रमा संचालन हुंदैआएको होम–स्टेको अवधारणामा अव शहरीकरण गर्न आवश्यक भैसकेको श्रेष्ठको सोच रहेको छ। शहरमा संचालित कतिपय होटल तथा रेष्टुरेन्टमा होम–स्टेको अवधारणा अनुरुप नयाँ रुप प्रदान गर्नुपर्ने तथा अझ होम–स्टेको रुपमा परिमार्जन गर्न आवश्यक भएको पनि श्रेष्ठले भनेका छन्।

जसलेगर्दा काठमाडौं लगायतका शहरी पर्यटन क्षेत्रमा आउने पर्यटकहरुले पनि नयाँपन पाउने र उनीहरुको भ्रमण अवधि लम्ब्याएर अर्थपार्जन गर्न सहज हुने सुझाव पनि श्रेष्ठको रहेको छ।

     नयाँपन र नयाँ सोचको विकास नभइकन पुरानै ढर्रामा शहरी रेष्टुरेन्ट तथा होटलहरु संचालनमा रहेको कारण पर्यटकहरु होम–स्टे संचालन भैरहेका ग्रामिण क्षेत्रमा आकर्षित भैरहेको हो। शहरी सुन्दरतालाई कायम गरेर ग्रामिण पर्यटनको विकास होम–स्टेवाट भएजस्तै शहरी पर्यटनको विकासमा यहाँको कला–संस्कृति, सम्पदा क्षेत्रलाई प्रबद्र्धन गरेर नयाँपन दिएर विकास गर्न र गराउन स्थानीय सरकार नगरपालिकाहरु सजक हुनुपर्ने आवश्यकता माथि पनि श्रेष्ठले जोड दिएका छन्।

अर्कोतर्फ नेपाल भ्रमणमा आउने पर्यटकहरु तारे होटलहरुमा भन्दा पारिवारिक बाताबरण भएका होम–स्टेमा बस्न बढी रुचाउन थालेका छन्।

     हुन त खासगरी व्यवस्थित होटल, लज नभएको स्थानमा होम–स्टे राम्रो विकल्प भन्ने गरेको छ। तर, यो परिभाषालाई परिवर्तन गरेर व्यवस्थित होटल तथा लज अनि रेष्टुरेन्टहरुमा पनि होम–स्टेको अवधारणा अनुरुप स्थानीय कला–संस्कृति र पहिरन अनि बाताबरण तथा खानापिनामा पुट गरेर शहरी होम–स्टेको बाताबरण तयार गर्नु आवश्यकता श्रेष्ठको जोड रहेको छ। त्यसो त होमस्टेको छुटै विशेषता छ । आनन्द छ। महत्व छ।

     होमस्टेमा पाहुना बनेपछि स्थानिय समाज, रहनसहन, संस्कृति, बोलीचालीलाई नजिकबाट साक्षात्कार गर्न पाइन्छ । त्यस्तै, यसमा आत्मियता पनि मिल्छ। एउटै परिवार जस्तै भएर बस्न सकिन्छ । त्यसैले बिदामा कतै घुमघामको योजना बनाइरहेकाहरुलाई होमस्टे राम्रो विकल्प हो । होमस्टेले स्थानिय रहसनसहन र संस्कृतिलाई बुझ्ने मौका दिलाउँछ । यद्यपी, त्यसबाट अझ लाभ लिन वा होमस्टेको आनन्द उठाउनका लागि निम्न केही कुरामा भने ध्यान दिनुपर्नेु राय श्रेष्ठको रहेको छ।

१.शिष्टाचार

     होम–स्टेमा शिष्टाचार पालना गर्नु र गराउनु अत्यन्त आवश्यक छ। सकेसम्म परिवारका सदस्यहरुलाई जस्तो पर्यटकहरुलाई पनि साइनो लगाएर सम्बोधन गर्न सकेमा गजबै हुने गर्दछ। काका, दाई, भाई, बहिनी, फुपु । यसले उनीहरुसँग निकट हुने अवसर दिलाउँछ । साथै साइनो अनुसार उचित व्यवहार गर्न सकेमा नेपाली कला–संस्कृति र आचरण विश्वमा उजागर भएर नेपालको इज्जत बढ्ने तथा पर्यटन प्रवद्र्धन हुने निश्चित छ। अर्कोतर्फ पर्यटक बस्ने कोठा, उनीहरुले प्रयोग गर्ने बाथरुम सदा सफा राख्ने। जसरी हामीले उनीहरुको बोली व्यवहारको ख्याल गरिरहेका हुन्छौ, त्यसैगरी उनीहरुले पनि  हाम्रो आतिथ्यतालाई कालान्तरसम्म याद गर्ने हुन्छ। उनीहरु प्रत्येक पल्ट नेपाल आउंदा आफू बसेको शहरी होम–स्टेको आतिथ्यता भएको होटल तथा रेष्टुरेन्टलाई खोजेर आउने गर्दछन्।

२.बातचित

     पर्यटकहरु आफु बसेको होम–स्टेका परिवारका सदस्यहरुसँग कुराकानी, भलाकुसारी गर्न रुचाउंछन्। उनीहरुको चाहना अनुरुप आत्मिय बनेर खुलेर बातचित गर्नु आवशयक छ।  त्यस बातचितमा स्थानको विशेषता, दर्शनीय स्थान, रहनसहन, संस्कृति आदिको बारेमा चर्चा गरेर उनीहरुलाई जानकारी दिनु अत्यन्त राम्रो हुन्छ । साथै उनीहरु नीजि कुराहरु गरेर पारिवारिक बन्न पनि रुचाउने भएकोले उनीहरुका र आफ्ना नीजि कुरालाई पनि प्राथमिकतामा राख्नु पर्दछ।

३.खानामा प्रयोग

    स्वदेशी तथा विदेशी पर्यटकहरु कुनै स्थानमा भ्रमण गरेपछि त्यहाँको स्थानिय रहनसहन, संस्कृतिलाई नजिकबाट नियाल्न खोज्नु स्वभाविक हो । यसलेगर्दा पनि  खानेकुरामा पनि सकेसम्म स्थानिय परिकारलाई महत्व दिनुपर्छ । उनीहरुले खाइरहेको वा सहजै उपलब्ध हुने खानेकुरा भन्दा पनि स्थानिय स्तरमा उत्पादन हुने, स्थानिय स्तरमा पकाइने परिकारको स्वाद दिने प्रयास गर्नु पर्दछ। खानेकुरामा स्वास्थ्यमैत्री हुँदैन भने त्यसबारे सुरुमै अवगत गराउनुपर्छ । सकभर अर्गानिक खानामा स्वस्थकर बनाउनु आवश्यक छ।

४.हार्दिकतापूर्वक प्रस्तुत हुने

     होम–स्टेको विकास गरेपछि होटलको जस्तो वातावरण, होटलको जस्तो व्यवहार गर्नु हुँदैन । होम–स्टेमा पारिवारिक रहनसहनको बाताबरण दिनु पर्दछ। पारिवारिक बाताबरण तथा पारिवारिक हार्दिकता प्रदान गर्नु पर्दछ। यसो भएमा शहरी होम–स्टेमा थप नयाँपन आउने गर्दछ।

यिनै शहरी होम–स्टेको नयाँ सोचको विकास गर्ने पर्यटन व्यवसायी रमेश श्रेष्ठको जन्म विसं.२०३० सालमा सिन्धुपालचोकको कदमवास भीरखोला साँचोगढी नगरपालिकामा भएको हो। कक्षा तीनसम्म गाउंकै श्रीकालीदेवी माध्यमिक विद्यालयमा अध्ययन गरेर सानो उमेरमा काठमाडौं छिरेका श्रेष्ठले काठमाडौंको रक्तकाली स्थित रक्तकाली माध्यमिक विद्यालयमा फेरि कक्षा तीनमा नै भर्ना भएर पढाई चालु गरेका थिए।

पढाईको अलावा सानैदेखि रेष्टुरेन्ट व्यवसायमा संलग्न रहे। पढ्नुको अलावा त्यो पढाईलाई निरन्तरता दिन दुःखले काम पनि गर्न थाले। रेष्टुरेन्टको हेल्परवाट करियर शुरु गरेका श्रेष्ठले त्यसपछि कुक हुंदै एक्ज्युकेटिभ सेफको रहरलाग्दो करियर पनि बनाउन सफलता प्राप्त गरे। कामको साथमा पढाईलाई पनि निरन्तरता दिएर एसएलसी पास गरेपछि भने श्रेष्ठमा कलाकारिताको अनौठो नशा नै लाग्यो।

      त्यो नशाले उनलाई गजबको डान्सर पनि बनायो। सवैलाई डान्स सिकाउने डान्स एकेडेमीको रुपमा ठमेलकै गल्कोपाखामा निर्भाना कला केन्द्र नाम डान्स इन्ष्टिच्यूट पनि विसं.२०४७ सालमा नै स्थापना गर्ने कार्य श्रेष्ठवाटै भयो। निर्भाना एउटा बाजाको नाम हो। अनि यो विश्व प्रसिद्ध अमेरिकी व्याण्डको नाम पनि हो। यिनै निर्भाना रमेश श्रेष्ठको अर्को परिचय बनेको छ। चिन्ने कतिपयले उनलाई रमेश निर्भाना पनि भन्ने गरेको पाइन्छ।

     यिनै निर्भाना कला केन्द्र मार्फत कयन कलाकार जन्माउने तथा उनीहरुको कलाकारितालाई मलजल गरेर व्यावसायिकता बनाउन पनि श्रेष्ठले धेरै सघाउ पु¥याएका छन्। स्वदेश तथा विदेशका कयन कल्चर प्रोग्रामहरुमा उनीहरुका कलाकारिता प्रस्तुत गर्न लगाएर उनीहरुलाई मनग्गे धनी बनाउने कार्यमा पनि श्रेष्ठको ठूलो योगदान रहेको छ। त्यसमाथि, श्रेष्ठकै अगुवाईमा निर्भाना कला केन्द्र मार्फत सिंगापुरमा वीक इन सिंगापुर जस्ता अभूतपूर्व कार्यक्रम स्वीजरल्याण्ड, जर्मन, डेनमार्क, हङकङ,मलेसिया,दुबई लगायत देशहरुमा नेपाली कला–संस्कृति प्रस्तुत गरेर नेपाल चिनाउने कार्य भएको छ।

     विभिन्न नेपाली भेषभूषामा आफै प्रस्तुत भएर नेपाली कलाकारिताको तहल्का मच्चाउने कार्य पनि श्रेष्ठवाट भएको छ। अभिनयमा पनि त्यतिकै रुचि राख्ने श्रेष्ठले नेपाली चलचित्र बरदानमा प्रहरी असईको भूमिका निर्वाह गरेर सवैको वाहवाही पाएका छन्। साथमा नेपाल टेलिकम, नेपाल आयल निगम लगायतका विभिन्न विज्ञापनमा समेत अभिनय गरेर नयाँपन दिने कार्यमा उनको योगदान रहेको छ।

     यतिखेर विभिन्न म्युजिक भिडियोहरुको निर्देशनमा समेत व्यस्त रहेका श्रेष्ठले एक सय भन्दा म्युजिक भिडियोको निर्माण तथा निर्देशन समेत गरिसकेका छन्। डिजिटल समय सुहाउंदो निर्माना युट्युब टेलिभिजनको स्थापना गरेर नेपाली म्युजिक भिडियो तथा कला र कलाकारिताको प्रबद्र्धन गर्ने कार्यमा पनि श्रेष्ठले फड्को मारिसकेका छन्। एकातिर कलाकारिता र अर्कोतिर पर्यटन व्यवसायमा गजबले जमिरहेका श्रेष्ठ हरेक कुरामा नयाँ सोच दिदै अगाडि बढिरहेका छन्।

(नामी साप्ताहिकवाट साभार)।

प्रकाशन मिति–२०७५ साल मंसिर २४ गते सोमवार ।