काठमाडौ। राष्ट्रिय जनता पार्टी नेपालवाट फरार रहेकै अवस्थामा चुनाव जितेका रेशम चौधरीको सांसद बन्ने बाटो रोकिएको छ। चौधरी टीकापुर घटनाका मुख्य अभियुक्त हुन्। फरार रहेकै अवस्थामा कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेका चौधरी निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत पाउनु पर्ने माग गर्दै सर्वोच्च गएका थिए।

सर्वोच्च प्रशासनले रिट दरपीठ गरेपछि परेको निवेदनमा न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले रजिष्ट्रारको आदेश कानुनसम्मत भएको फैसला सुनाएको छ। आदेशमा कर्तव्य ज्यान मुद्दाको अभियोग लागेका चौधरीले अदालतबाट जारी भएको वारेन्ट तथा म्यादी पूर्जी अवज्ञा गरेको देखिएको समेत फैसलामा उल्लेख छ। सर्वोच्चले आफ्नो फैसलामा फरार अभियुक्तलाई जुनसुकै बेला पक्राउ गरेर अदालतमा दाखिल गर्नुपर्ने प्रावधानसमेत स्मरण गराएको छ।

सर्वोच्चले अदालती प्रक्रियालाई छलेर कसैले पनि संविधान एवं प्रचलित कानुनले प्रदान गरेको सुविधा उपभोग गर्न नसक्ने ठहर गरेको छ। फैसलामा अभियोग लागेका व्यक्तिले कानुन बमोजिम सफाइ लिनुपर्नेमा त्यसो नपाइएको उल्लेख गरिएको छ। अभियोग लागेका व्यक्तिले जानीजानी अदालती प्रक्रियालाई अवज्ञा गरी राज्यद्वारा प्रदान गरिने सुुविधा वा हक उपभोग गर्न गैरबाटोको प्रयोग गर्ने हो भने देशमा दण्डहीनताको स्थिति सृजना हुनसक्ने सर्वोच्चले बताएको छ।
प्रकाशन मिति–२०७४ साल पुष ९ गते आइतवार ।