काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपाली चलचित्र र बलिउड चलचित्र उद्योगलाई जोड्ने बताएका छन् । चलचित्र कलाकार संघले आयोजना गरेको ‘दोश्रो फान अवार्ड’लाई सम्बोधन गर्दै ओलीले आफ्नो चाडै नै हुन लागेको भारत भ्रमणको टोलीमा चलचित्रकर्मीलाई पनि सहभागी गराउन लागेको बताएका छन्।

प्रधानमन्त्री ओलीको भारत भ्रमणमा चलचित्र क्षेत्रको पनि प्रतिनिधित्व हुने भएको खुलासा ओली आफैले संवोधनका क्रममा गरेका छन्। तर, त्यस भ्रमणमा कसले प्रतिनिधित्व गर्ने भन्ने कुरा भने ओलीले खुलाएन। ओलीले सम्बोधनका क्रममा चलचित्रकर्मीहरुलाई ‘कथाको माग भन्दा पनि समयको माग अनुसार’ चलचित्र बनाउन आग्रह गरे।

प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा भएको ‘फान अवार्ड २०७३’ तर्फ उत्कृष्ट फिल्मको अवार्ड ‘छक्का पञ्जा’ ले जितेको छ। उत्कृष्ट निर्देशक विधा तर्फ भने ‘गाजलु’ बाट हेमराज विसीले अवार्ड उचाले। विपिन कार्कीले ‘जात्रा’ बाट उत्कृष्ट अभिनेताको अवार्ड जित्दा ‘डाइङ क्याण्डल’ बाट श्रृजना सुब्बाले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन्। शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा २४ विधामा अवार्ड वितरण गरिएको थियो।

यसैबीच दिर्घ साधना सम्मान तर्फ वरिष्ट कलाकार नीर शाहलाई प्रदान गरिएको छ । प्रधानमन्त्री ओलीले दोसल्ला ओडाउँदै शाहलाई १ लाख ११ हजार १ सय ११ धनराशीसहित सम्मान प्रदान गरेका थिए। चलचित्र पत्रकार द्वय लक्ष्मण सुवेदी र ध्रुव लम्साललाई चलचित्र पत्रकारिता सम्मान प्रदान गरिएको थियो। नाम चलेका कलाकारहरुले दर्जनभन्दा बढी नेपाली चलचित्रका गीतमा नृत्य प्रस्तुत गरेका थिए।
प्रकाशन मिति–२०७४ साल चैत्र १६ गते शुक्रबार ।