काठमाडौं। विश्वकप ग्लोबल छनोट अन्तर्गतको खेलमा नेपालको जित भएको छ। आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपालले ओमानलाई पराजित गरेपछि जितको शुरुवात भएको हो।

ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमीमा शनिवार भएको टी–२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १३६ रनले पराजित गरेको छ। लगातार दोस्रो जितपछि नेपाल सेमिफाइनल नजिक पुगेको हो। कमजोर देखिएको फिलिपिन्समाथिको विशाल जितमा नेपालले केही कीर्तिमानसमेत बनाएको छ।

फिलिपिन्सविरुद्ध नेपाली ओपनर कुशल भुर्तेलले १०४ रनको अविजित शतकीय इनिङ्स खेले । योसँगै उनी टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने दोस्रो नेपाली क्रिकेटर बनेका छन् । यसअघि पूर्वकप्तान पारस खड्काले शतक प्रहार गरेका थिए ।
गत वर्ष नेपालमै भएको त्रिकोणात्मक श्रृङ्खलाबाट टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका कुशलले सोही प्रतियोगितामा चार अर्धशतक प्रहार गरेका थिए । उनले शतक र अर्धशतकमा पूर्वकप्तान पारसको कीर्तिमान बराबर गरेका हुन् ।

कुशलले टी–२० अन्तर्राष्ट्रियको ७ इनिङ्समा ४०२ रन पूरा गरेका छन् । उनी सर्वाधिक रन बनाउनेमा चौथो स्थानमा छन् । परास खड्काले ३३ खेलबाट ७९९ रन बनाएका छन् भने ज्ञानेन्द्र मल्लले ३७ खेलमा ७२८ र दीपेन्द्रसिंह ऐरीले ३१ खेलमा ७१३ रन जोडेका छन् । फिलिपिन्सविरुद्ध कुशल र दीपेन्द्रले तेस्रो विकेटका लागि १७१ रनको साझेदारी गरे । यो नेपालको टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक साझेदारी हो । यसअघि सन् २०१९ मा पारस र आरिफ शेखले दोस्रो विकेटका लागि गरेको १४५ रनको साझेदारी कुशल र दीपेन्द्रले तोडेका हुन् । उनीहरुले गरेको यो साझेदारी तेस्रो विकेटका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमै तेस्रो सर्वाधिक हो ।

४.२ ओभरमा कुशल मल्ल आउट भएपछि क्रिजमा आएका दीपेन्द्रले कुशल भुर्तेलसँग ८८ बलमा १७१ रनको साझेदारी गरेका हुन् । दीपेन्द्र १८.५ ओभरमा ८३ रनको स्कोरमा आउट भएका थिए ।

दीपेन्द्रको यो टी–२० अन्तर्राष्ट्रियमा व्यक्तिगत उत्कृष्ट प्रदर्शन हो । टी–२० मा उनको यो तेस्रो अर्धशतक पनि हो । दीपेन्द्रले ग्लोबल क्वालिफायरअघि ओमानमै भएको चारदेशीय श्रृङ्खलामा ओमानविरुद्ध अविजित ७३ रन बनाएका थिए ।
ओमानको अल अमेरात रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाएर २१८ रनको योगफल बनाएको थियो । यो टी–२० अन्तर्राष्ट्रियमा नेपालको तेस्रो सर्वाधिक योगफल हो ।

यसअघि गत वैशाखमा नेपालमै भएको त्रिकोणात्मक श्रृङ्खलाका क्रममा नेपालले नेदरल्याण्ड्सविरुद्ध २३८ रनको योगफल बनाएको थियो । सन् २०१९ मा आयोजित १३औं दक्षिण एसियाली खेलकुदका क्रममा भुटानविरुद्ध २३६ रनको योगफल बनाएको थियो । टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक योगफल बनाउनेमा फिलिपिन्सविरुद्ध नेपालको इनिङ्स १४औं नम्बरमा छ ।

प्रकाशन मिति–२०७८ साल फागुन ७ गते शनिवार ।