काठमाडौं। केही दिनदेखि काठमाडौं उपत्यका फिल्मी स्टाइलमा महिलाहरु माथि तिखो सुइरो सिरिन्ज आक्रमण भएको छ। जसको कारण महिलाहरु एक्ला एक्लै हिंड्डुल गर्न डर पैदा भैरहेको बर्तमान अवस्थामा काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा शृंखलाबद्धरुपमा महिलामाथि भएका आक्रमणमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले महिलामाथि भएका शृंखलाबद्ध आक्रमणमा संलग्न सन्तोष कार्कीलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो। कार्कीलाई बिहीबार राति १० बजे महाराजगन्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। रामेछाप घर भइ हाल महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका कार्कीलाई प्रहरीले विभिन्न युवतीहरुलाई जथाभावी तीखो वस्तुले घोच्दै हिँडेको आरोपमा पक्राउ गरेको हो।

पक्राउ परेका कार्कीले प्रारम्भिक बयानमा आफ्नो अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ। उनले ‘सिरिन्ज’ले आक्रमण नगरी किलाले आक्रमण गरेको बयान प्रहरीसमक्ष दिएका छन्। कुनै रोग सार्न नभइ आफ्नो रमाइलोका लागि सिरिन्जले नभर्इ सुरुमा काठको सुइरो र पछि ढलान किलाले घोच्ने गरेको बयान दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम सुवेदीले बताए। प्रहरीले उनको बयानमा पूरा विश्वास नगरीसकेकाले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यसैबीच, काठमाडौंको भद्रकाली मन्दिर पसिरमा आफूलाई ‘धर्तीमाता’ भन्दै एक युवतीलाई कुटपिट गर्ने विष्णु कुँवरलाईसमेत प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले कुँवरलाई शुक्रबार बालाजु, बाइपासबाट पक्राउ गरेको हो। उनले एक युवतीलाई कुटपिट गरेको भिडियो सामाजिक सन्जालमा पोस्ट भएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रकाशन मिति–२०७६ साल असार १३ गते शुक्रवार ।