सम्पादकीय
काठमाडौं महानगरपालिका भनेपछि सवैको दिमागमा पहिला देखि फोहर व्यवस्थापन गर्ने अड्डाको रुपमा आउने गरेको छ। फोहर अड्डाको रुपमा पहिलादेखि सुपरिचित काठमाडौं महानगरपालिकालाई मात्र फोहर व्यवस्थापन गर्ने र गराउने कुरामा टाउको दुःख्ने विषय बन्दैआएको छ। अझ पाँच बर्ष लामो कसरत गरेर काठमाडौं महानगरवासीको भारी मतले चुनाव जितेका मेयर बालेन्द्र साहको लागि फोहर त ठूलो टाउको दुःखाइ नै भएको छ।

 

काठमाडौं महानगरको फोहर बालेन्द्र साहले चुनाव जित्नुअघि देखि टाउको दुखाईको विषय बन्दैआएको थियो र यसै विषयलाई चुनाव जित्ने रणनीति नै लिएर अगाडि बढे्का मेयर साहलाई स्वतन्त्र उम्मेदवारीवाट चुनाव जितेयता ठूलै टाउको दुखाई विषय नै बन्यो। फोहरको राजनीतिलाई सुल्झाउन तीन ठूला दलका नेताहरु केपी शर्मा ओली, शेरवहादुर देउवादेखि प्रचण्डसम्म पनि भेटघाट गर्ने कार्य मेयर साहले गरेको देखियो। तरपनि, खासै सकारात्मक प्रभाव भने देखिएन।

काठमाडौंवाट संघीय निर्वाचनमा चुनाव जितेका नेताहरु काठमाडौं उपत्यकाको फोहर विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोल–बञ्चरे डाँडा नपुगेतापनि मेयरमा जितेको लगतै त्यहाँको बस्तुस्थिति बुझ्न पुगेका मेयर साह त्यहाँको भयावह स्थितिवाट आफै आजित नबनेका होइनन्।

फोहरलाई घरभित्रै विसर्जन गरेर कुहिने र नकुहिने फोहर छुटाएर ल्याएमा मात्र त्यसको उचित व्यवस्थापन गर्न महानगर जिम्मेवार बन्ने जस्ता कडा निर्देशन जारी गर्ने कार्य पनि मेयर साहवाट भएको छ। जुन केही हदसम्म काठमाडौंको फोहर व्यवस्थापनमा सरलता आउने देखिएको छ। तरपनि, दीर्घकालिन रुपमा समाधान भने होइन ।

दीर्घकालिन समाधान भनेको मध्यपुर थिमि नगरपालिका र गोकर्णेश्वर नगरपालिकाले परीक्षणकै रुपमा भएपनि शुरु गरेको फोहरलाई कम्पोष्ट मल बनाउने तथा जलाएर समाधान निकाल्ने कार्य हुन थालेको छ। जुन सकारात्मक कार्यको काठमाडौं महानगरपालिकाले पनि गर्न आवश्यक छ। अर्कोतर्फ, काठमाडौं जिल्लामा फोहर व्यवस्थापन गर्ने र गराउने कार्यको जिम्मेवारी काठमाडौं महानगरपालिकाको मात्र हो भन्ने भ्रम पनि हट्नु आवश्यक छ।

काठमाडौं जिल्लामा रहेका काठमाडौं महानगरपालिका सहितका ११ नगरपालिकाको पनि हो भन्ने कुरा विर्सन हुदैन। त्यस्तै, ललितपुर र भक्तपुर जिल्ला नगरपालिकाहरुको पनि फोहर व्यवस्थापनमा उत्तिकै जिम्मेवारी रहेको छ। त्यसमा समन्वय गरेर काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको गन्तव्य बनिरहेको नुवाकोटको सिसडोल–बञ्चरे डाँडाको विकल्प आफ्नै महानगर तथा नगरपालिकाभित्र नै फोहर विसर्जन गरेर त्यसलाई प्रशोधन गर्न आवश्यक छ।

त्यसवाट कम्पोष्ट मल लगायत उत्पादन गरेर रिसाइक्लिनको कार्य गर्न र गराउन सकेमा बर्षौ बर्षदेखि चल्दैआएको फोहरको राजनीतिको अन्त्य हुनेथियो। सिसडोल–बञ्चरे डाँडाका जनताले पनि स्वच्छ हावामा सास फेर्न पाउने थियो। यसको लागि सरोकारवालाहरुले चाँडै सोचेर कार्यन्वयन गर्न अत्यन्त जरुरी भैसकेको छ।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७९ साल जेठ २८ गते शनिवार ।