काठमाडौं। नेपाल चलचित्र कलाकार संघले संघको भवन निर्माण गर्न आ.ब.२०७७–०७८ को बजेट भाषणमा नेपाल सरकारले रकम विनियोजित गरिदिएकोमा हार्दिक आभार प्रकट गरेको छ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले कलाकार संघ को भवन निर्माण का लागि नेपाल सरकारले आ ब २०७७–७८ को बजेटमा रक़म विनियोजन गर्नुका साथै नेपाली चलचित्र क्षेत्रको सम्बृद्धिका लागि बिभिन्न शीर्षकमा आबश्यक बजेट व्यवस्था भएकोमा सरकारलाई आभार प्रकट गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओली, अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडा तथा मन्त्री परिषद र नेपाल सरकार प्रति हार्दिक आभार प्रकट गर्ने निर्णय गरेको नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाव्दारा प्रेषित विज्ञप्तिमा जनाइएको छ।

३२ बर्ष अगाडि देखि नेपाली चलचित्र क्षेत्रको विकास तथा बिस्तारमा अभिभावकको रूपमा नेपाल चलचित्र कलाकार संघले पुर्याउदै आएको योगदानका उल्लेखनीय कुराहरू समेटेर तयार पारिएका संघका महत्त्वपूर्ण आवश्यकता र अनुरोधपत्रलाई संम्बन्धित मन्त्रीज्यू तथा संम्बन्धित निकायमा गम्भीरता पूर्वक पेश गरिदिने मन्त्रीकाका स्वकीय सचिव तुलसी मैनालीलाई विशेष धन्यवाद दिने निर्णय पनि भएको प्रवक्ता निरौलाले जनाएका छन्।

त्यसैगरी चलचित्र विकास बोर्डका सदस्य सचिव महेन्द्र साःखी, चलचित्र बिकास बोर्डका सदस्य दयाराम दाहाललाई पनि हार्दिक धन्यवाद दिने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ।

सम्पूर्ण चलचित्रकर्मीको हक,हित र चलचित्र कलाकार संघको ज़मिन तथा भवन निर्माणका लागि सकारात्मक सोचका साथ सहयोग पुर्याउनु हुने पूर्वसूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटा, भूमिसुधार मन्त्री पद्मा अर्याल, शहरी बिकाश राज्यमन्त्री रामवीर मानन्धर, पम्फा भुसाल, कोमल ओलीलाई पनि हार्दिक आभार प्रकट गर्दै यो लकडाउन पश्चात आउन सक्ने चर्को बिषम परिस्थितिले चलचित्र उद्योगका सबै बिधाका पेशाकर्मी, ब्यबसायी, श्रमजीविहरूलाई गम्भीर असरगर्ने हुदा त्यसको समाधानका लागि नेपाल सरकार तथा चलचित्र बिकास बोर्डलाई सम्बोधन गर्न तथा सहयोगका लागि संस्थागत रूपमै बिशेष अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको जनाएको छ।

प्रकाशन मिति–२०७७ साल जेठ १८ गते आइतवार ।