काठमाडौं। नेपाल सरकारले ल्याएको आर्थिक बर्ष २०७७–०७८ सालको जारी गरेको बजेट भाषणमा नेपाली चलचित्र क्षेत्रले पनि विशेष प्राथमिकता पाएको छ।

अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट भाषणको क्रममा साहित्य, कलाकार र संगीतकारको वृत्ति विकासका लागि कार्यक्रम संचालन गर्ने र त्यसका लागि आवश्यक बजेट वितरण गर्ने उल्लेख भएको छ। सरकारले आगामी आर्थिक वर्ष २०७७–०७८ बाट नेपाली श्रमजीवी चलचित्रकर्मीहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने भएको छ।

यसको आवश्यक काम शुरु भईसकेको सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणमा उल्लेख गरेका छन्। चलचित्रकर्मीहरुको हकहित तथा सुरक्षाको व्यवस्था गर्दै उनीहरुलाई सामाजिक सुरक्षाको दायरामा समेटिने बजेट भाषणमा उल्लेख गरेको हो।

त्यस्तै ‘छायांकनका लागि नेपाल’ अभियानको सुरुवात समायानुकुल वातावरणमा गरिने बताइएको छ । बजेट प्रस्तुत कार्यक्रममा अर्थन्त्री डा. खतिवडाले मौलिक नेपाली चलचित्र निर्माण गर्न प्रोत्साहित गर्ने, नेपाल चलचित्र कलाकार संघको भवन निर्माण गर्न सहयोग र अनुदान दिने, नेपाली चलचित्रको लागि प्रवर्द्धन संरक्षणका लागि आवश्यक बजेट व्यवस्था गरेको बताएका छन्।

चलचित्र विकास बोर्डले बार्षिक रुपमा संचालन गर्दै आएको प्रशासनिक कार्यक्रमहरुलाई कटौटी गरेको छ। यस्तै बार्षिक कार्ययोजना तथा नीतिगत कार्यक्रमहरुको दायरालाई वृद्धि गरिएको छ। सरकारले हल संचालकहरुलाई विद्युतमा छुट दिईने बताईएको छ। हलवालाहरुको लागि कर छुट, निश्चित सामाग्रीमा कर मिनाह, विशेष राहत प्याकेज र अनुदानलाई जोड दिईने पनि सरकारले जनाएको छ।

कोरोना भाइरसका कारण थप्प बनेको नेपाली चलचित्र क्षेत्र र यसबाट प्रत्यक्ष असरमा परेका चलचित्रकर्मीहरुलाई विशेष प्याकेज सहितको अनुदान कार्यक्रमहरुलाई जोड दिने पनि सरकारले जनाएको छ।

आर्थिक बर्ष २०७७–०७८ को बजेट भाषणमा नेपाली चलचित्र क्षेत्रलाई विशेष प्राथमिकता दिएर नेपाल चलचित्र कलाकार संघको भवन निर्माण गर्न सरकारले बजेट राखेकोमा हर्षको आँशु चुहाउंदै संघका अध्यक्ष रविन्द्र खड्काले हालसम्मका सरकारहरु मध्ये ओली नेतृत्वको सरकारले सर्वोत्कृष्ट कार्य गरेको भनेर सरकारलाई धन्यवाद दिएका छन्।


प्रकाशन मिति–२०७७ साल जेठ १६ गते शुक्रवार ।