–निर्मल बज्राचार्य

नेपाल मण्डलका प्रथम बज्राचार्य महामञ्जुश्री हुन् । पं वद्रिरत्न बज्राचार्यको बज्राचार्यहरुको संक्षिप्त परिचय नामक पुस्तकमा यो तथ्य उल्लेख गरेको पाईन्छ। बौद्ध विद्वान राजेन्द्रमान बज्राचार्यका अनुसार वज्रयानको उद्गमस्थल काठमाडौं नै हो। उहाँको भनाइ अनुसार भारतीय इतिहास विभाग तथा भारतीय बौद्ध विद्वानहरुले आफ्ना कृतिहरुमा वज्रयानको उद्गम स्थल काठमाडौं भनेर उल्लेख गरेका छन्। बज्राचार्य थर विशेष होइन, यो उपाधि हो।

अहिलेको चलनचल्तीमा विज्ञान विषयको स्नातकोत्तर तह एमएस्सीलाई विज्ञानाचार्य र मानविकी विषयको स्नातकोत्तर तह एमएलाई कलाचार्य भने जस्तै वज्रयानमा आचार्य गरेकालाई वज्राचार्य भनिन्छ। वज्राचार्य उपाधी धारण गरेका व्यक्तिका सन्तानलाई पनि कालान्तरमा वज्राचार्य भन्न थाले।

हिन्दु धर्मावलम्वी ब्राम्हणहरु पनि वज्रयानबाट प्रभावित भएर वज्राभिषेक गरेर वज्राचार्यमा परिणत भएको ज्वलन्त उदाहरण थुप्रै छन्। राजेन्द्रमान बज्राचार्यको कान्तिपुरका महाविहार तथा विहार पुस्तकमा “ब्राम्हणहरुको बाहुल्यताका ब्रम्हपुरका उपाध्याय ब्राम्हणहरु समेत प्रभावित हुन पुगेका थिए। जसको परिणाम स्वरुप ती उपाध्याय ब्राम्हणहरुले सामुहिक रुपमा वज्रयान बौद्ध धर्म तथा परम्परा अनुसार प्रव्रज्याभिषेक तथा आचार्याभिषेक समेत प्राप्त गरी वज्रयान बौद्ध धर्ममा प्रवेश गरेका थिए।

यसरी ब्राम्हण भई बौद्ध धर्ममा प्रवेश गरे पश्चात ती ब्राम्हणहरुलाई पं हेमन्त देव ब्राम्हण (द्वीजवर उपाध्याय) अर्थात द्वीजवर (दुई वटा धर्म धारण गरेका) उपाध्यायले परिचित भए।” भनी उल्लेख गरेको पाईन्छ। यसै गरी काठमाडौंको लगनटोलमा बस्ने नेपालभाषाका साहित्यकार स्व. अष्टमुनि गुभाजुका पूर्खाहरु पनि उपाध्याय ब्राम्हण थिए, तर वज्रयान बौद्ध धर्म तथा परम्परा अनुसार प्रव्रज्याभिषेक तथा आचार्याभिषेक पश्चात वज्राचार्य(गुभाजु) भएका थिए, वर्तमान समयमा उहाँहरु वज्राचार्यको रुप मै परिचित छन्।

ललितपुरको बूबहालमा ब्राम्हण कुलका दुई सहोदर भाई मध्ये एक भाई वज्राचार्यमा परिणत भए, अर्का भाई उपाध्याय नै भएर जीवन यापन गरिरहेका छन्। ललितपुरको सुप्रसिद्ध अग्निशाला(अगिंमथः)का पुजारी समेत रहेका ती दुई धर्म अंगालेका दाजुभाईका सन्ततिले हालसम्म पनि बार्षिक रुपमा सगोलमा बौद्ध र हिन्दु धर्म अनुसार सामुहिक पूजा र भोजमा सरिक भई रहेका छन्।

नेपालमण्डलका सुप्रसिद्ध वज्राचार्यहरु जो वज्रयानमा मात्र हैन तन्त्र, मन्त्र र साधनामा पनि निपुर्ण छन्, पं बद्रीरत्नको पुस्तकमा उल्लेखित केहिको नामावली यस प्रकार छन् लीलावज्र, शास्वतवज्र, मञ्जुवज्र(जामनः गुभाजु), वाकवज्र, सुरतवज्र, शान्तिकराचार्य मञ्जुदेवाचार्य, जीवचन्द्र, वन्धुदत्त आचार्य।

 

यसप्रकारको इतिहास भएका वज्राचार्यहरुको आधिकारिक संस्था वज्राचार्य क्लबले २०७६ पुस १२ गते नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा वल्र्ड वज्राचार्य अवार्डस् २०१९ कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ ।

पहिलो पटक आयोजना गरेको उक्त ऐतिहासिक समारोेहमा ललितपुरका युगपुरुष बुद्धिराज वज्राचार्यलाई लाइफ टाइम अचिभमेन्ट अवार्डका साथ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्मानित गरेका थिए भने, धर्माेदय सभाका अध्यक्ष तथा बौद्ध विद्वान यज्ञमानपति वज्राचार्यले दोसल्ला ओढाएर सम्मानित गरेका थिए।

त्यसैगरेर, विद्याधर महायोगी श्रीधर राणा रिम्पोचेलाई मेयर शाक्यले विशेष सम्मानबाट सम्मानित गरेका थिए भने बौद्ध विद्वान फणिन्द्ररत्न वज्राचार्यले दोसल्ला ओढाएर सम्मानित गरेका थिए। विश्वभरी छरिएर बसोबास गर्दै आएका वज्राचार्यहरुलाई एउटै मुलधारमा ल्याउने उद्देश्यले आयोजित उक्त समारोहमा विश्वका विभिन्न विद्यालय तथा विश्वविद्यालयबाट एसइइ देखि विद्यावारिधि तह सम्मका शिक्षामा उत्कृष्टता हासिल गरेका विद्यार्थीहरुलाई नेपालका लव्धप्रतिष्ठ वज्राचार्यहरुले आकर्षक वल्र्ड वज्राचार्य अवार्डस् २०१९ प्रदान गरेका थिए।

हरेक दुई बर्षमा आयोजना गने उक्त अवार्ड वितरण समारोहमा नेपाल सम्वत् ११३८ र ११३९ मा उत्कृष्टता हासिल गरेका विद्यार्थीहरुलाई अवार्ड प्रदान गरेका थिए। सोहि कार्यक्रममा बौद्ध चर्या नृत्य, आधुनिक नृत्य तथा गीतसंगीतको साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
वज्राचार्य क्लबका अध्यक्ष ज्योति वज्राचार्यको सभापतित्व र क्लबका संस्थापक अध्यक्ष शैलेन्द्रमान वज्राचार्यको उत्कृष्ट संयोजनमा आयोजित उक्त कार्यक्रम सुरजवीर वज्राचार्य र रेणुका वज्राचार्यले संचालन गरेका थिए।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७६ साल पुस २६ गते शनिवार ।