काठमाडौं। नेपालीहरुको महान पर्व बडा दशैंको छैठौं दिन आज घर–घरमा कात्यायनी माताको पूजा गर्ने कार्य भएको छ।

हिन्दूहरुकी देवी नवदुर्गाको छैठौं स्वरुपका रूपमा कात्यायनीलार्इ लिइन्छ। अमरकोषमा पार्वतीको दोस्रो नाम कात्यायनी भनिएको छ। आजका दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ।

बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लागेको छ। उपत्यकाको गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गर्ने कार्य भैरहेको छ।

दशैमा नौ दिनसम्म शक्तिपीठ तथा दशैंघरमा पूजा अर्चना सहित दूर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ।
प्रकाशन मिति–२०७५ साल असोज २९ गते सोमवार ।