–कल्पना तिवारी
विराटनगर । बडा दशैं आफैमा रमाइलो चाड हो। हिन्दूमात्रको महान पर्वको रुपमा लिइदैआएको बडा दशैंलाई अन्य धर्मावलम्वीहरुले सहजतापूर्वक लिएको पाइएको छ। शरद ऋतु रमणिय पर्व आउदैगर्दा सवैको मन हर्षले प्रफुल्लित हुने गर्दछ। बर्षभरिको दुःख तथा पीडालाई भुल्ने पर्वको रुपमा पनि बडा दशैंलाई लिइने गर्दछ। विछोडिएका नातागोता तथा आफन्तहरुसंग भेटघाट पनि यसै बडा दशैंले मेलोको रुपमा कार्य गर्ने गर्दछ। यसकारण पनि बडा दशैं पर्वहरुमध्येकै बडा हो।

आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सव नै बडा दशैं हो। दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुध–पूजा आदि नामले जानिन्छ । यो खासगरी आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको महापर्व हो । यो नेपालीहरूको सबैभन्दा ठूलो राष्ट्रिय चाड हो। त्यसमा पनि विजयादशमी मुख्य दिन हो ।

त्रेता युगमा यहि दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष गरी मनाइन्छ । श्रीरामले दशैँ दिनमा रावणमाथि विजय हाँसिल गरेको भएर दशैलाई वडादशै एवम् विजयदशमीको नामले पूकारिन्छ । दशैंलाई असत्य माथि सत्यको बिजयको रुपमा हेरिन्छ । विजयदशमी भगवान रामको विजयको रुपमा मनाइयोस् अथवा दुर्गा पूजाको रुपमा, दुवै रुपमा यो शक्ति–पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो । हर्ष एवं उल्लास तथा विजयको पर्व हो । हिन्दू सँस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दशैंको उत्सव–पर्व सुरु भएको हो । बडा महान खुशीको पर्व हो ।

बास्तवमा दश दिन मनाइने हुनाले पनि यो हिन्दुहरुको महान पर्वलाई दशैं भनेको हुनुपर्छ। दशैंमा नवदुर्गा (हिन्दु धर्म की शक्तिस्वरुपा देवी दुर्गा) को नौ वटा रूप शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिधात्री विशेष पूजा तथा आराधाना गरिन्छ। नवदुर्गा भवानीका यी नव रूपको आश्विन शुक्लपक्ष प्रतिप्रदाकाका दिनदेखी महानवमीका दिनसम्म क्रमशः एक एक दिन गरी नौ दिनसम्म पूजा गर्ने गरिन्छ ।

दशौँ दिन विजयादशमीमा भगवतिले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुशीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप मान्यजनबाट रातो टिका र जमरा लगाएर र आशिर्वाद थापेर मनाइन्छ । टाढा टाढा देखि आउने पाउनाहरूले पूर्णिमासम्मै पनि टीका लगाएर आशिवार्द लिने–दिने गरिन्छ।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७९ साल असोज १६ गते आइतवार ।