ललितपुर। ऐतिहासिक नगरी ललितपुरवाट लोप हुन लागेको तथा बन्द नै भैसकेको पायः (खड्ग) जात्रा र नव दुर्गा (गःथुँ प्यांख) नाच सञ्चालनका लागि उल्लेखनीय भूमिका निर्वाह गर्ने ललितपुरका तीन जना पत्रकारलाई विशेष सम्मान गरिएको छ। यल सांस्कृतिक पर्व संरक्षण समितिले आइतवार आयोजित कार्यक्रममा तीन पत्रकारलाई सम्मान गरेको हो।

सम्मानित हुने पत्रकारहरूमा सुनील महर्जन, प्रशान्त माली र राजेश बज्राचार्य रहेका छन्। महर्जन नेवाःपत्रकार राष्ट्रिय दबूका केन्द्रीय महासचिव तथा नेपाल समाचारपत्रका समाचार सम्पादक, माली पत्रकार नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाका उपाध्यक्ष तथा कान्तिपुर दैनिकका ललितपुर जिल्ला सम्पादक र बज्राचार्य नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाका पूर्व सचिव हुन्।

सम्मानित पत्रकारहरुलाई ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका आयोजक यल सांस्कृतिक पर्व संरक्षण समितिका संयोजक कृष्णलाल महर्जन, वाग्मती प्रदेशका सासंद् शोभा शाक्य र ललितपुर महानगरपालिकाका मेयरचिरिबाबु महर्जनले सम्मानित पत्रकारहरूलाई सम्मान पत्र प्रदान गरेका थिए। संस्थागत रुपमा नेवाःपत्रकार राष्ट्रिय दबूलाई पनि सम्मान दिइएको थियो।

लोप हुन लागेको तथा बन्दै भैसकेको जात्रा र नाचका संवन्धमा पत्रकारिताको माध्यमवाट निरन्तर पैरबी गर्ने कार्य गरिएको आयोजक समितिले जनाएको छ। जसको कारण संवन्धित निकायको विशेष ध्यान गएर लोप हुन लागेको तथा बन्दै हुन लागेको जात्रा तथा नाच चल्न थालेको पनि भनिएको छ।
प्रकाशन मिति–२०७७ कात्तिक ३० गते आइतवार ।