–श्याम स्मृत
काठमाडौं। फेसन अर्थात पहिरन समय मापन हो। यसले समयको माग अनुसार समाजलाई बदलाव दिने गर्दछ। यिनै फेसनका सन्दर्भमा काठमाडौं महानगरपालिका वडा नंबर १४ कलंकीचोक स्थित पहिरन बुटिक एण्ड कलेक्सनकी प्रोप्राइटर एवम् फेसन डिजाइनर बबिता सिम्खडाको जवाफ घतलाग्दो छ । फेसन डिजाइनर बबिता सिम्खडाको यस्तो भनाइ छ, ‘फेसन त्यही हो, जुन तपाईंलाई सहज लाग्छ ।’ आफुलाई हिँड्न, बस्न, काम गर्न सहज हुने पहिरन नै फेसन हो । यस्तो पहिरनले तपाईंको आत्मविश्वास बढाउँछ । अर्थात पहिरनको कारण कुनै किसिमको झन्झट व्यहोर्नुपर्दैन।

अहिले हामीकहाँ थुप्रै फेसन डिजाइनर छन् । फेसन डिजाइनिङ गर्ने बुटिक पनि जताततै खुलेका छन् । तर, यि सबै बजार निर्देशित शैलीलाई पच्छ्याइरहेका छन् । फेसन के हो भन्ने कुराको सही जवाफ उनीहरुसँग पनि छैन, जो आफुलाई फेसन डिजाइनर भन्न रुचाउँछन् । हाम्रा अधिकांश फेसन डिजाइनरको बुझाई के छ भने, झट्ट हेर्दा चिटिक्क देखिने । भिडमा अलग देखिने । सबैको आँखा पर्ने पहिरन नै फेसन हो। साथै विश्व बजारमा जस्तो शैली चलेको छ, त्यही शैलीलाई पच्छ्याउनु नै फेसन हो । तर, यी सबै परिभाषा र बुझाई आफैमा पूर्णता नभएको जिकिर पनि फेसन डिजाइनर बबिता सिम्खडाको रहेको छ।

खासमा फेसन त्यही हो, जुन पहिरन तपाईंलाई सहज लाग्छ । तपाईं हिँडडुल गर्नुहुन्छ, कार्यलयमा काम गर्नुहुन्छ, व्यापार व्यवसाय गर्नुहुन्छ । यावत् काम गरिरहँदा तपार्ईंलाई आफ्नो पहिरन एकदमै सहज र अनुकुल महशुस हुनुपर्छ । त्यही कारण त फेसन विज्ञसमेत रहेकी सिम्खडा भन्छिन्, ‘फेसन यस्तो हुनुपर्छ, जो तपाईंलाई सहज हो । यसले तपाईंलाई शारीरिक वा मानसिक रुपमा असहज महशुस नगराओस् ।’
आफ्नो शरीर र काम अनुसार सहज हुने किसिमको पहिरन लगाउनुभयो भने तपाईंले अतिरिक्त झन्झट व्यहोर्नुपर्दैन । आफुले लगाएको पहिरन सहज लाग्छ । यसले गर्दा तपाईंको आत्मविश्वास पनि बढ्छ । वास्तवमा हामीले लगाएको पहिरनले हाम्रो आत्मविश्वास बढाउने काम पनि गर्नुपर्छ । असहज पहिरनमा तपाईं जतिसुकै चमकदमक देखिएपनि त्यसले तपाईंको आत्ममनोवल कमजोर बनाइरहेको हुन्छ । जबकी पहिरनले मान्छेको मनोवल पनि बढाउनुपर्छ । त्यसैले बजारमा चलेको वा स्टाइसिल देखिने चक्करमा भद्दा, असहज पहिरन लगाउन नहुने राय पनि सिम्खडाको रहेको छ।

फेसन भन्नसाथ हामी बजारमा चलेको ट्रेन्डलाई बुझ्ने गर्छौं । वा अरु मान्छे खासगरी सेलिब्रेटीले अपनाएको पहिरन शैलीलाई बुझ्ने गर्छौं । अरुलाई चिटिक्क र सुहाउँदो देखिएको पहिरन देखेपछि हामी लोभिन्छौं । अतः हामीपनि सोही किसिमको पहिरन शैली अपनाउने प्रयास गर्छौं । तर, एउटा व्यक्तिलाई जुन पहिरन सुहाउँछ, तपाईंलाई त्यो सुहाउँदो नहुन सक्छ । एउटा व्यक्तिको सौन्दर्य जुन किसिमको रंगले खुल्छ, तपाईंको सौन्दर्य त्यही रंगले नखुल्न सक्छ । अरुको देखेर होइन, आफैलाई हेरेर पहिरन शैली अपनाउनुपर्छ । आफ्नो शारीरिक वनौट, वर्ण, उचाई, रुपरंग अनुसार सही किसिमको पहिरन छनौट गर्न सक्नुपर्छ भनेर सिम्खडाले भनेकी छन्।

फेसन भनेको समयानुकल हुनुपर्छ । जाडोको मौसममा तपाईंले त्यस्तो पहिरन शैली अपनाउनुपर्छ, जसले शरीरलाई न्यानो प्रदान गर्छ । स्टाइलिस एवं ग्ल्यामरस देखिने चक्करमा छोटो, पारदर्शी, खुला पहिरन लगाउनु हुँदैन । ठिक यसैगरी गर्मीमा तपाईंले यस्तो पहिरन लगाउनुपर्छ, जसले सितलता प्रदान गर्छ । खुला र सहज पहिरन लगाउनुपर्छ । पसिना सोस्न सक्ने पहिरन हुनुपर्छ भन्न सिम्खडा चुक्दिनन्।

वर्षायाममा लगाइने परिहन जाडो वा गर्मीको पहिरन भन्दा भिन्न हुनुपर्छ । यतिबेला लगाइने पहिरन हल्का हुनका साथै पानीले भिजेर पनि खास असर नगर्ने किसिमको हुनुपर्छ । वा पानीले भिजेपनि चाडै सुक्ने किसिमको हुनुपर्छ । यसरी मौसम अनुकुल पहिरनको छनौट गर्नु नै फेसनेवल हुनु हो । नयाँ पहिरन लगाउने पर्वका रूपमा परिचित दशैं–तिहार तथा तीज लगायतका पर्वहरुमा पहिरन भनेको मिलाएर लगाउन जान्यो भने जस्तो पहिरन पनि राम्रो देखिन्छ । दर्शैमा झिलीमीली, रातोभन्दा सोबर ब्राइट कलरका पहिरन तयार गर्न सकिन्छ ।

नेपालमा चलेको फेसनमा वेस्टर्न र इस्टर्न दुवैको उत्तिकै प्रभाव छ । अहिले इस्टर्नभन्दा युरोपियन फेसनतिर झुकाब बढेको छ तर चाडपर्वमा भने परम्परागत पहिरन साडी, कुर्ता तथा लेहेंगालाई कसैले चटक्कै छोड्न पनि सकेका छैनन् । दर्शै जस्तो पर्वमा साडी, कुर्ता तथा लेहेंगामा पनि वेस्टर्न टच दिने प्रवृति भने बढ्दो छ । पहिले जस्तो चाडपर्व भन्दैमा साडी वा कुर्ता सलवार नै लगाउनुपर्छ भन्ने छैन । क्याजुअलमा अहिले वाइड लेग कटन पाइन्ट धेरैको च्वाइसमा छ ।

त्यो लुकमा क्रप टपलाई लंग ज्याकेटसँग लगाउँदा रिफ्रेसिङ फेस्टिभ लुक्समा ट्वीस्ट ल्याउन सक्छ । दशैंका लागि टप्समा क्लोज नेक उपयुक्त डिजाइन हो जसले स्टाइलिस्ट तथा एलिगेन्ट देखाउँछ भने स्लिभमा फ्रिलहरू प्रयोग गरी स्टाइलिस्ट तथा स्मार्ट लुक्समा देखिन सकिन्छ । चाडपर्वको अवसरमा ट्रेडिसनल नै झल्काउने पहिरन लगाउँ भन्ने सोच राख्नेहरूलाई जिन्समै लंग इम्ब्रोडरी टप्स्, क्लोज नेक आउटर, रेड स्ट्ेिट पाइन्टमा डिजाइनर आउटर स्टाइल ड्रेसमा रेड बेल्ट आदि पनि खुल्ने गरेको उनको भनाई छ।

समय अनुरुप अनि शरीर सुहाउंदो फेसन अर्थात पहिरन लगाउन जानेमा सवैको अगाडि आफू आकर्षक बन्न सकिने सुझाव दिन नचुक्ने फेसन डिजाइनर बबिता सिम्खडाले आफ्नो कलंकी स्थित पहिरन बुटिक एण्ड कलेक्सनमा आउने ग्राहकहरुको अनुहार तथा शरीरको बनौट हेरेको भरमा तुरुन्ता तुरुन्तै तपाईलाई यो फेसन अर्थात पहिरन सुहाउंछ भनेर सल्लाह तथा सुझाव दिने भएको कारण सहज भएको छ। पहिरन बुटिक एण्ड कलेक्सनमा पुग्ने पहिरनका पारखीहरु अत्यन्त सन्तुष्ट बन्ने गरेका छन्। जुन आफ्नो लामो समयको अनुभवको सफलता हो भन्न उनी चुक्दिनन्।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७९ साल भाद्र २३ गते विहीवार ।