काठमाडौ। नेपालका बरिष्ठ कलाकार तथा पूर्व सेनानी भीमवहादुर थापाको बुधवार विहान २ बजे दुःखद निधन भएको छ। ९२ बर्षको उमेरमा कलाकार थापाको काठमाडौको मैतीदेवीस्थित निवासमा निधन भएको हो। थापाको पशुपति आर्यघाटमा बुधवार नै दाहासंस्कार गरिएको छ।

कलाकार थापाका २ छोरी र १ छोरा छन्। छोरा अमेरिकामा भएकाले थापालाई जेठी छोरीले दागवत्ती दिएकी थिइन् । बरिष्ठ कलाकार तथा नेपाली सेनाका पूर्वसेनानी थापाको जन्म विसं १९८३ साल असार १३ गते खोटाङ जिल्लाको रावा, लामिडाँडामा भएको थियो। थापा सन् १९४२ मा वृटिश आर्मीमा भर्ना भइ सन् १९४५ को दोश्रो विश्वयुद्धमा समेत लडेका थिए।

उनी दोश्रो विश्वयुद्धको समाप्तीपछि विरताको कदरस्वरुप प्रदान गरिएको डिफेन्स मेडल, जनरल सर्भिस, ब्रह्मास्टार जस्ता तक्मा छातीमा लगाएर त्यसबेलाको २–३ हजार भारु बोकेर गाउँ फर्किएका थिए। नेपाली सेनामा भर्ती भएर सेनानीसम्मको पदमा पुगेका थापाले उमेर हदका कारण विसं २०३९ सालमा जागिरबाट अवकाश पाएका थिए। उनको निधनमा नेपाली सेनाले सलामी दिदै सम्मान प्रकट गरेको थियो।
प्रकाशन मिति–२०७५ साल जेठ ३० गते बुधवार ।