Yadav Kharel Album.1काठमाडौ । बरिष्ठ गीतकार तथा चलचित्रकर्मी यादव खरेलव्दारा रचित विभिन्न चाडपर्वमा गाइने लोक–सांस्कृतिक गीतहरू सङ्कलित एल्बम ‘लै बरी लै’ को सार्वजनिक भएको छ। वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले बुधबार गीतकार खरेलको एल्बम ‘लै बरी लै’ को सार्वजनिक गरेका हुन्।

म्युजिक नेपालले प्रकाशन तथा आयोजनमा भएको कार्यक्रम वरिष्ठ गीतकार नगेन्द्र थापाको सभापतित्वमा संपन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीले यस्ता गीतहरूले नेपाली संस्कृति कति सम्पन्न छ भन्ने कुराको उदाहरण प्रस्तुत गरेको जिकिर गरेका छन्।

वरिष्ठ गीतकार थापाले गीतकार खरेलका गीतले अहिले हराउँदै जान थालेको हाम्रो मौलिक लोकपरम्परालाई स्मरण गराएको धारणा व्यक्त गरे । ‘लै बरी लै’एल्बमका गीतकार खरेलले धेरै अगाडि तयार भएरपनि विभिन्न कारणले अहिले मात्र प्रकाशन हुने अवसर पाएको जनाउंदै यी गीतहरूले नेपाली संस्कृतिप्रति चासो राख्ने श्रोता या समीक्षकलाई गीत–सङ्गीतका हिसाबले नौलो आस्वादन हुने दावी गरेका छन्।

आयोजक म्युजिक नेपालका अध्यक्ष तथा प्रबन्ध–सञ्चालक सन्तोष शर्माले म्युजिक नेपाल मनोरञ्जनका लागि मात्र होइन, गहनतम संस्कृतिका लागि समेत सक्रियतापूर्वक काम गरिरहेको संस्था भएकोले यस्ता गीतले नेपाली संस्कृतिलाई समृद्ध बनाउने कुरामा प्रकाश पारे ।

गणेश परियार, मदन दिपबिम, शम्भुजित बाँस्कोटा र शिलाबहादुर मोक्तानद्वारा सङ्गीतवद्ध ‘लै बरी लै’ एल्बममा लोचन भट्टराई, नूतन प्रधान, तुलसी पराजुली, माण्डवी त्रिपाठी, अञ्जना गुरुङ, जुजुकाजी रञ्जित, रीमा गुरुङ होडा, इन्दिरा गुरुङ, भानु ओली, जूना प्रसाईं र आभा मुकारुङ लगायतका गायक–गायिकाका गायन रहेका छन्।

Yadav Kharel Albumप्रकाशन मिति–२०७४ साल बैशाख ७ गते विहीवार ।