ललितपुर । वरिष्ठ संस्कृतिविद् जोशीले आर्थिक समृद्धिका लागि कलाकारहरुको सिर्जनालाई कदर गर्दै हस्तकलाको विकासका लागि साच्चीकै काम गरेर देखाउनुपर्ने समय आएको बताएका छन्। वल्र्ड क्राफ्ट काउन्सिलले ललितपुरलाई ३५ औं नगरी घोषणा गरेको सन्र्दभमा ललितपुर महानगरपालिका वडा नंबर १६ ले चैत्र १३ देखि १७ गतेसम्म गर्न लागेको हस्तकला र सांस्कृतिक महोत्सवको घोषणा सभामा संस्कृतिविद जोशीले उक्त कुरा गरेका हुन्।

पाटन संग्रहालयमा आयोजित सो सभामा वरिष्ठ संस्कृतिविद् जोशीले ऐतिहासिक कालदेखि ललितपुर हस्तकलाको शहर रहेको जिकिर गरेका छन्। जोशीले १२ औं शताब्दीका कलाकार अरनिको र महानतम कलाकारहरुको कलाकृतिले भरिएको शहर ललितपुर भएको पनि दावी गरेका छन्।

त्यस कार्यक्रममा ललितपुर महानगरपालिका वडा नंबर १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले घोषणाले ल्याएको अवसरको बढीभन्दा बढी सदुपयोग गर्ने दिशामा अघि बढ्नका लागि वडास्तरीय प्रयासका रुपमा महोत्सवलाई लिनुपर्ने बताएका छन्। विश्वको ३५ औं कला नगरी घोषणा गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको नेपाल हस्तकला महासंघलाई सोही सभामा सम्मान गरियो ।

वडाअध्यक्ष निर्मलरत्न शाक्यले महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यलाई खादा ओढाई र वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले सो सम्मान पत्र प्रदान गरेका थिए । सोही अवसरमा महासंघका निर्वतमान अध्यक्ष धर्मराज शाक्यलाई वल्ड क्राफ्ट काउन्सिलको एसिया प्यासिफिकको उपाध्यक्ष र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सदस्यमा सरकारले नियुक्ति गरेको पृष्ठभूमीमा हस्तकलाको विकासमा पु-याउनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

महासंघको हालै सम्पन्न निर्वाचनमा नवनिर्वाचित पदाधिकारी, ललितपुर हस्तकला संघका अध्यक्ष विसरामसिं महर्जन सहित कार्यसमिति सदस्य, मयेर कप टेबुलटेनिस प्रतियोगिताका विजयी वडाका खेलाडीपनि सम्मान गरिएको थियो ।
प्रकाशन मिति–२०७५ साल फागुन ६ गते सोमवार ।