काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बिहान बसेको नेकपाको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको हो।

नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने सदस्यमा गौतमलाई पठाउन मन्त्रिपरिषदलाई आग्रह गर्ने निर्णय भएको पार्टी प्रवक्ता नारायाणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिएका छन्।
नेकपाको यो निर्णयसँगै अर्थमन्त्रीसमेत रहेका डा.युवराज खतिवडा राष्ट्रिय सभाबाट बाहिरिने भएको छ। गोलाप्रथाका क्रममा २ वर्षे कार्यकालका लागि चुनिएका खतिवडाको कार्यकाल यही फागुनमा सकिँदैछ । उनको ठाउँमा अब वामदेवले राष्ट्रिय सभा सदस्यकारुपमा प्रवेश पाउनेछ ।

पार्टीभित्रको चर्को गुटको विवादकाबीच नेकपा सचिवालय बैठकले बर्दियामा कांग्रेसका सञ्जय गौतमसँग पराजित वामदेवलाई राष्ट्रिय सभामा लाने औपचारिक निर्णय गरेको हो । यस्तै, नेकपाले संविधान संशोधनका लागि गृहकार्य गर्न बनाएको कार्यदल भङ्ग गरेको छ । यसअघि बसेको सचिवालय बैठकमा कार्यदल बनाउने समझदारी भएको तर अहिले नै कार्यदल बनाएर अगाडि बढाउनुपर्ने औचित्य नरहेकाले कार्यदल भङ्ग गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताएका छन्।

नेकपाले यसअघि नेता गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने र संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्ने बाटो खुला गर्न कार्यदल बनाएर जाने निर्णय गरेको थियो । जनताबाट अनुमोदित नभएका गौतमलाई नेकपाले अगाडि बढाउने भनेपछि पार्टी भित्रै र बाहिर जनस्तरमा ब्यापक बिरोध भएको छ । विरोधका आवाज धेरै उठेपछि नेकपा हाललाई संविधान संशोधनको विषयबाट पछि हटेको छ।
प्रकाशन मिति–२०७६ साल फागुन १४ गते बुधवार ।