Photo By-Heramba Raj Kadel

काठमाडौं। अविरल बर्षाका कारण देशभर बाढी–पहिरोबाट जनजीवनलाई अस्तव्यस्त वनाएको छ। त्यस्तैगरेर, सुरक्षित भनिएको काठमाडौं उपत्यकामा पनि बाढीको प्रकोप देखिएको छ। साउने भेलमा काठमाडौं उपत्यकाका मूल नदीहरु बागमती, मनोहरा, विष्णुमति, हनुमन्ते निक्कै उर्लेको पाइएको छ।

यी नदी–किनारका वस्तीहरुमा खतरा देखिन थालेको छ। अझ मनोहर, विष्णुमति, हनुमन्ते तीन नदीहरु टेकुको दोभानमा वागमतीमा मिसिएर बग्ने गर्दछ। जसको कारण टेकु दोभानवाट बागमती अझ ठूलो भएर उर्लने गरेको छ। चोभारमा पुग्दा त बागमतीको भेल व्यापक हुने गरेको छ। बागमतीको विराट रुप चोभारमा सोमवार देखियो।

बागमतीको त्यो रुप देखेर चोभारका स्थानीयहरु त्रसित नै बनेका छन्। बागमती नदी किनारका थापाथली, त्रिपुरेश्वर, टेकु लगायतका बस्ती तथा सुकुम्वासी बस्तीहरुमा बागमती पसेपछि धेरैको निदहराम भएको छ। यस वर्षको वर्षा शुरु भएदेखि नै काठमाडौँका विभिन्न स्थानमा बाढीको जोखिम बढेको छ। काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा बाढीको असर देखिन थालेको छ।

मौसम विज्ञहरुका अनुसार यस्तै वर्षा थप केही दिनसम्म निरन्तर भएमा राजधानी पनि बाढीको चपेटामा पर्नेछ। पछिल्ला वर्षमा बाढीले गर्दा काठमाडौँ लगायत विकसित सहरमा पनि जनजीवन प्रभावित पार्ने गरेको छ। यसले गर्दा नदी किनार मिचेर शहर–वस्ती वसाल्नु खतरा सावित हुंदैगएको छ। यसतर्फ संवन्धित निकायले सचेतता अपनाउन जरुरत भैसकेको छ।

प्रकाशन मिति–२०७७ साल साउन ५ गते सोमवार ।