काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य नुवाकोटको सिसडोल स्थित स्यानिटरी ल्याण्डफिल्डको स्थलगत अवस्था बु्झ्न त्यहाँ पुगेका छन्। काठमाडौं उपत्यका तथा नुवाकोट र धादिङका समेत फोहर विर्सजन गरिने एक मात्र स्थान सिसडोल ल्याण्डफिल्ड पुगेर त्यहाँको बस्तुस्थिति बुझेर आवश्यक निर्देशन गर्ने कार्य भएको छ।

आगामी बर्षादसम्म सिसडोल स्यानिटरी ल्याण्डफिल्ड साइटमा फोहर विर्सजन गर्न संभव नभएकोले त्यस नजिक रहेको बञ्चरे डाँडालाई दीर्घकालिन ल्याण्डफिल्ड साइट बनाउन मेयर शाक्यले निक्कै पहल गरेका छन्।

सिसडोलवाट २ किलोमिटर मात्र पर रहेको बञ्चरे डाँडामा ल्याण्डफिल्ड साइट बनाउने आवश्यक पूर्वाधार लगभग तयारीको क्रममा रहेको पनि मेयर शाक्यलाई जानकारी दिइएको छ। त्यहाँसम्म पुग्न सडकको कालोपत्रे गर्ने कार्यको शुभारम्भ भएको जानकारी पनि सोही अवलोकन भ्रमणमा मेयर शाक्यलाई दिइएको छ।

काठमाडौंको मूल समस्याको रुपमा रहेको फोहर विर्सजन स्थान रहेको र त्यसको लागि बञ्चरे डाँडा अत्यन्त उपयुक्त रहेको र बाताबरणीय अनुकुलता पनि यस स्थानमा रहेको मेयर शाक्यको ठहर रहेको छ। आगामी बर्षादसम्ममा बञ्चरे डाँडामा फोहर विसर्जन गर्न आवश्यक व्यवस्था मिलाइदिन शहरी विकास मन्त्रालयका अधिकारीहरुलाई आग्रह समेत गरेका छन्।

मेयर शाक्यका साथमा शहरी विकास मन्त्रालयका सहसचिब पदम मैनाली, काठमाडौं महानगरपालिकाका सहसचिव भरत अर्याल, महानगरको वातावरण व्यवस्थापन समितिका संयोजक तथा काठमाडौं महानगरपालिका वडा नंबर १२ का वडा अध्यक्ष बिकास डंगोल र वातावरण व्यवस्थापन र पूर्वाधार बिकास बिभागका अधिकारीसहित त्यहाँ पुगेका हुन्।

सो स्थलगत भ्रमण अवलोकनका क्रममा संघीय सांसद सदस्य रामबीर मानन्धरको सहभागिता रहेको थियो। कथंकदाचित कुनै प्राविधिक तथा व्यावहारिक समस्या नभएमा आगामी बर्षादसम्म बञ्चरे डाँडामा फोहर व्यवस्थापन गरिने निश्चित भएको छ।

प्रकाशन मिति–२०७५ साल माघ १७ गते विहीवार ।