काठमाडौं। यो बर्षको बडा दशैं झरिमय भएको छ। महानवमीको दिनदेखि देशभर निरन्तर बर्षा भैरहेको छ। जसको कारण असोज महिना असार जस्तो भैरहेको छ। झरिमय बर्षाको कारण बडा दशैंको टीकालाई प्रभावित पारेको छ। रमाइलो गर्ने मूडमा रहेकाहरु घरैमा थन्किएका छन्।

नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ अर्थात असोज १६ गते फूलपातीका दिन भएता पनि यस वर्ष मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दशैंका लागि विशेष मनसुनी बुलेटिन निकालेर महाशाखाले मनसुन सरदरभन्दा बढी समय रहने भएकाले बडा दशैंमामा वर्षा हुने बताएको हो। हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमीतर्फ सर्दै जाने क्रममा असोज १८ देखि २१ गतेसम्म नेपालमा पनि यस प्रणालीको प्रभाव परेको हुँदा मनसुनी वर्षा सक्रिय भएको महाशाखाले उल्लेख गरेको छ । उक्त मौसमी प्रणालीको प्रभावले बडा दशैंको नवमी, विजया दशमी र एकादशीसम्ममा मनसुनी वर्षा हुने भएको छ।

यस समयमा देशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहाबको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायात र कृषिलगायतका क्षेत्रहरु प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसारणमा र सरोकारवाला निकायमा अनुरोध गरेको छ ।

मौसम बुलेटिन अनुसार महानवमीका दिन देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ।

असोज १९ गते विजय दशमीका दिन देशभर बदली रही थोरै स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । असोज २० गते एकादशीका दिन पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।
प्रकाशन मिति–२०७९ साल असोज १९ गते बुधवार ।