सम्पादकीय–
यो बर्ष पनि जेठ २८ गतेबाट असारे मनसुन शुरु भएको छ। शुरु भएयताकोे पहिलो हप्तामै देशैभर बबण्डर मचाउंदै जनधनको नोक्सानी पु-याएको छ । शुरुवाती चरणमै मनसुन व्यापक सक्रिय बन्दा देशका सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ लगायत डेढ दर्जन बढी जिल्लामा बाढीपहिरो गएको छ ।

कोरोना महामारीसँगै अझै तीन महिनाभन्दा बढी समय हुने भारी वर्षाले मच्चाउन वितण्डा भयानक बर्षेनी भयानक हुने गरेको छ । यो भयानकताको निरन्तरता यो बर्ष पनि कायमै छ। यो हुनुमा विपत् व्यवस्थापनामा राज्य र सरकारको नै गैरजिम्मेवारी हो। मनसुनको समयमा प्रत्येक वर्ष सरकारी निकायले वर्षा र बाढी पहिरोबाट प्रभावित हुने मानिस, परिवार र आर्थिक नोक्सानीको अनुमानित हर हिसाब निकाल्छ। त्यसका लागि राज्य संयन्त्र सँधै तयार रहेको बताइन्छ । तर, वर्षाको पानीसँगै सरकारी तथा जनप्रतिनिधिका प्रतिबद्धता पनि बगेर जाने गरेको छ । त्यो क्रमले यो बर्षपनि निरन्तरता पाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीरकण तथा व्यवस्थापन प्राधिकरणले यसवर्ष बाढी पहिरो तथा पानी जन्य विपद्बबाट १८ लाख मानिस प्रभावित हुने आँकडा सार्वजनिक गरेकै हो। प्रभावितको उद्धार तथा राहतमा तयार रहेको पनि भनेकै हो। यसवर्ष पनि मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना कार्य पारित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीरकण तथा व्यवस्थापन प्राधिकरणले जनाएकै हो। भनाई र गराईमा भने, फरक हुन पुग्दा बर्षेनीको दुःखको विपत यो बर्ष पनि भोग्न नेपाली जनता बाध्य बन्नु परेको छ।

राज्य र सरकार कार्ययोजनामा हरेक मन्त्रालयसँगै तीनै तहको सरकारका कामहरुको स्पष्ट लेखिएको हुन्छ । बाढी पहिरोबाट वर्षेनी २ सय जनाको मृत्यु र २ अर्ब हाराहारीको आर्थिक क्षती हुने गरेको छ । हरेक बर्ष विपद्को सामना गर्न तीन तहका सरकारका सुरक्षा निकायले आफूहरु तम्तयार रहेको बताएतापनि त्यो हुन सकेको पाइएको छैन्। जसको कारण समयमा नै तयारी गरेर त्यसवाट बचाउने उपाय नगरेको यथार्थता कसैवाट छिपेको छैन्।

यो पछौटेपनले गर्दा जोखिम घट्नुको साटो बढ्दो छ । आफूसँग भएको सिमित स्रोत र साधनको प्रयोग गरेर विपत जोखिमको तयारी अवस्थामा नेपाली सेना देखिएको खुशीको खबर हो। यो बर्षको प्रारम्भिक विपतमा नेपाली सेनाले गरेको कार्य अत्यन्त सह्रानिय छ। प्रभावित क्षेत्रमा सरकारको प्रभाव निकै ढिला हुने गरेको अवस्थामा नेपाली सेनाको प्रभाव निश्चित रुपमा सहारा हो।

कागजमा सुन्दर योजना बनाए पनि त्यो कार्यान्वयन नहुनुले योजना देखाउनका लागि मात्र कार्य भएको छ। विपतको बेला समयमा तथा समय अगावै पाइला चाल्नका लागि राज्य र सरकारवाट खासै कुनै काम हुन सकेको छैन्। विपत आउन अघि नै त्यसको लागि तयारी गर्नु र जनचेतना अभिबृद्धि गर्ने–गराउने कार्य नगर्नु अर्को विपत हो।

विपत भन्ने कुरा नआएसम्म आउंदैन र आएपछि बाजा बजाएर थाम्न नै नसक्ने गरेर आउने गर्दछ। जुन कुरा यो बर्षको प्रि–मनसुनवाटै शुरुवात भएको छ। यो विपतलाई झेल्न निश्चित रुपमा निक्कै कठिन छ। बर्षेनी बाढीको विपतको व्यथा उही भएको छ। यो उहीको कथालाई हरेक बर्ष दोहो-याउने कार्य बारम्बार भैरहेको छ। जुन दुःखद तथा विडम्बना हो।

(नामी साप्ताहिकको बर्ष ७ अंक ३२ को सम्पादकीय साभार )
प्रकाशन मिति–२०७८ साल असार ५ गते शनिवार ।